चार देशका सिफारिस भएका राजदूतहरुको सुनुवाइ आइतबार हुने

 मंसिर १९, २०७५ बुधबार १४:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदूतको सुनुवाइ मंसिर २३ गते आइतबार गर्ने भएको छ । 

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदूत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यसँग आउँदो आइतबार २३ गते बिहान ११ बजे सुनुवाइ गर्ने निर्णय गरेको हो । 

आउँदो आइतबार सरकारले प्रस्ताव गरेका राजदूतहरुसँग सुनुवाइ गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । त्यसैगरी समितिको बैठकले शुक्रबार उजुरीकर्तासँग र पूर्व राजदूतहरुसँग राजदूतको योग्यता र क्षमताका सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

एक जना उजुरीकर्ताको उजुरी समितिमा परेकाले शुक्रबार नै उजुरीका सम्बन्धमा पनि छलफल गर्न लागिएको समितिका सभापति कर्णले बताउनुभयो । राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदूतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदूतहरुसँग पनि छलफल गर्ने निर्णय गरिएको पनि समितिले स्पष्ट पारेको छ ।

सरकारले सिफारिस गरेका चार राजदूतको उमेर हदमाथि प्रश्न उठाउँदै एक जनाको उजुरी परेको छ । राजदूत नियुक्तिका लागि कम्तीमा ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेमा अन्यथा भएको उजुरीमा उल्लेख गरिएको छ । 

संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका राजदूतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे सुनवाइ गरेपछि त्यो सिफारिस अनुमोदन गर्ने÷नगर्ने निर्णय लिने संवैधानिक व्यवस्था छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया