औषधी खानै मान्दैनन् डोटीका एचआईभी संक्रमित

 मंसिर १९, २०७५ बुधबार १५:२१:५२ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआईभी संक्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन् ।

तर केही महिनादेखि उनले औषधी सेवन गरिरहेकी छैनन् । उनी आफूलाई बिराम निको भइसकेकोले अब सधैँ औषधी खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् ।

एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुको संक्रमण बढ्न थालेको छ । धनसरा जस्तै अन्य संक्रमितहरुले पनि औषधी सेवन गर्न आनाकानी गर्ने गर्छन् ।

‘स्वास्थ्य संस्थाबाट औषधी लिएर जान्छन् तर घरमा लगेर थन्काइदिन्छन्’, संक्रमित कमला मल्ल भन्छिन्, ‘एक महिलाले २४ महिनासम्मको औषधी घरमै थन्काएको पाइएको छ ।’

औषधी सेवन नगरेकै कारण ती महिलाको छिट्टै ज्यान गएको कमलाको दाबी छ । २०६२ सालमा पहिलो पटक आफू एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमलाले भनिन्, ‘कयौं संक्रमितहरुको औषधी सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधी खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, तर उनीहरुले औषधी सेवन नै नगरेको पाइएको छ ।’

पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डाक्टर गिरिश अवस्थी बताउँनुहुन्छ । ‘लगातार औषधी खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो’, डा अवस्थीले भन्नुभयो, ‘लगातार औषधीको सेवन गर्न झन्झट मान्ने रहेछन् ।’

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बीचमै औषधी सेवन गर्न छोड्ने बताउनुभयो ।

‘लगातार औषधीले साइड इफेक्ट हुन्छ भन्ने बुझाइरहेको छ’, डाक्टर मिश्र भन्नुहुन्छ, ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’ डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिनुभयो ।

विश्व एड्स दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा एआरटी सेवन गरिरहेका कुल सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को ज्यान गइसकेको समेत रेग्मीले बताउनुभयो । उहाँका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ ।

‘एचआईभीको जाँच गराऔं, आफ्नो अवस्था थाह पाउँ’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमका सहभागीमध्ये आठ जनाको एचआईभी परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये कसैलाई पनि एचआईभीको संक्रमण नदेखिएको डाक्टर मिश्रले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया