सम्सी गाउँमा डोजर लगाएर घर भत्काइयो, राज्यमन्त्रीले लगाए वडाध्यक्षलाई आरोप

 मंसिर १९, २०७५ बुधबार १७:२९:४२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – राजनीतिक पूर्वाग्राहीका कारण सम्सी गाउँपालिका–१, का वडाध्यक्ष जथाभावी रुपमा सडकमा परेको घरमा डोजर लगाएर भत्काइएको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले बताउनुभएको छ ।

बुधबार दिउँसो अुनगमनको क्रममा महोत्तरीको सम्सी गाउँपालिका–१, पर्सामा पत्रकारसँग कुराकानी गर्नुहुँदै राज्यमन्त्री डा यादवले सडकमा पर्ने घर टहरा भत्काउने अधिकार स्थानीय सरकारको नभए पनि वडाध्यक्षले पूर्वाग्राही भई डोजर लगाएर घर टहरा भत्काइएको बताउनुभएको छ ।

स्थानीय सरकारले सडक विभाग वा हुलाकी सडकको आग्रह अनुसार सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने समयमा वडाध्यक्षले सडकमा पर्ने घरटहरामा डोजर लगाई लाखौंको क्षति पारेकोले क्षतिपूर्ति गाउँपालिकाले तत्कालै दिनुपर्ने डा यादवको भनाई छ ।

डा यादवले भन्नुभयो, ‘अहिले सडकमा परेको घर हटाउनको लागि गाउँपालिकालाई न त हुलाकी सडकको चिठ्ठी छ, न त त्यो सडकका सर्वसधारणले नै मुआब्जा पाएका छन ।’

घर तथा टहराको क्षतिपूर्ति नपाइकन घर तोड्न नपाइने डा यादवले प्रतिक्रिया दिनुभएको छ । प्रदेशसभा सदस्य भरतप्रसाद साहले घर टहरा भत्काएपछि विवाद हुनु स्वाभाविक भएकोले तत्काल सडक निर्माणको कार्य स्थगित नगरी निरन्तरता प्रदान गर्नका लागि आग्रह गर्नुभएको छ ।

गाउँपालिका प्रमुख शेख फारुखले बारम्बार सडक निर्माणको लागि छलफल हुने क्रममा सडक अतिक्रमण गरी बनाएको घरटहरा हटाउनको लागि सबैले तत्परता देखाएको बताउनुभयो ।

गाउँपालिका प्रमुखका अनुसार वडा कार्यालयले घरटहरा हटाउनको लागि दिएको समयसीमा २ महिना पहिल्यै सकिए पनि स्थानीय विन्देश्वर महतोलगायतले अटेरीपन गरेपछि डोजर लगाएर भत्काइएको जनाएको छ ।

एक वर्ष पहिले पनि त्यहाँ सञ्चालित पसलहरु क्रमिक रुपमा हटाएको भएता पनि पछिल्लो समयमा आएर उनीहरु पुनः सडकमा नै पसल सञ्चालन गर्दै आएको स्थानीयहरुले जनाएका छन् ।

वडाध्यक्ष विपीन विहारी यादवले प्रथम वडासभाले पारित भएको निर्णय अनुसार नै सडकमा पर्ने घरमा डोजर चलाएको बताउनुभएको छ । मन्दिर सुन्दर बनाउने निर्णय वडासभाले गरेको र त्यसै अनुसार बारम्बार घर टहरा हटाउन तोकता गर्दा समेत उनीहरु अटेर गरेपछि सडक विस्तारका लागि सडकमा पर्ने घर टहरामा डोजर लगाइएको जनाएको छ ।

भत्काइएको घरमा होटल सञ्चालन नभएको तथा आइरन पसल भएकोले अधिक मात्रामा क्षति नभएको वडाध्यक्ष यदुवीरले दाबी गर्नुभएको छ । सडकमा घर भएकोले केही मात्रमा निश्चित रुपमा क्षति भएको वडाध्यक्ष यदुवीरको भनाई छ ।

मंगलबार वडाध्यक्ष विपीन विहारी यदुवीरको उपस्थितमा डोजर चलाएपछि त्यहाँ पसल सञ्चालन गर्ने वीरेन्द्र चौधरीको ३ लाख, बैद्यनाथ चौधरीको १० लाख, रामधारी यादवको ३ लाख, इशु नदाफको ५० हजार, रामबाबु महतोको ३ लाख ५० हजार, मदन ठाकुरको ३० हजार, रामअशिष ठाकुरको ३० हजार, शिवदयाल महतोको ४० लाख, ज्ञानी मण्डलको गोदाम घर थिचिँदा लाखौंको क्षति भएको बताएका छन् ।

आफूहरुले कम्तीमा २ घण्टाको समय माग गरिएको तर वडाध्यक्षले घर खाली गर्न समय नदिएपछि लाखौंको क्षति भएको पीडित व्यापारीहरुले गुनासो गरेका छन् । 

 

अन्तिम अपडेट: चैत ७, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया