योजना आयोग गठन भएको एक महिनापछि सपथ, अरु प्रदेशभन्दा नमुना हुने मुख्यमन्त्री राईको दावी

 मंसिर १९, २०७५ बुधबार १७:३५:२३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश एकमा योजना आयोग गठन भएको एक महिना ५ दिन पछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराइएको छ । 

प्रदेश एक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुवोधराज प्याकुरेल, पूर्ण लक्सम र मिना भण्डारीलाई सपथ खुवाउनुभएको हो  ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुनौती र अवसरको बीचमा जिम्मेवारी दिइएको बताउनुभयो । उहाँले अहिलेको आवश्यकत्ता र चाहनाका आधारमा जनताको भावना अनुसार काम गर्नको लागि नागरिकले निर्वाचित गरेर पठाएको भन्दै मुख्यमन्त्री राईले प्रदेश एकमा विकासको नौलो खाका तयार गरी तत्कालीन र दीर्घकालीन योजना निर्माण गर्न आयोग सक्षम हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।  

संघीयताको मर्मलाई हृदयङ्गम गर्दै सम्भावनाको जगमा उभिएर  प्रदेशलाई तत्काल सजाउने र सुन्दर बनाउने कामको सुरुवात प्रदेश एकले गर्ने बेला आएको मुख्यमन्त्री राईले बताउनुभयो  । यसअघि धेरै ठूल्ठूला भाषण गरिसकिएको र अब नागरिकको चाहना अनुसारको कामको खाँचो रहेकोले अब नागरिकले भाषण नपत्याउने उहाँले बताउनुभयो । ‘अब काम गरेर देखाउने हो’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘स्पष्ट विकासको मोडल, ढाँचा तयार पर्दै पुराना योजनाका खाकालाई तोडेर अब नयाँ  खाका बनाएर अगाडि बढ्न योजना आयोगले भूमिका खेल्नेछ ।’

प्रदेश सरकारले घोषणा गरेअनुसारको प्रतिबद्धताको आधारमा कामहरु गरिरहेकोले अलमल नगरेको भन्दै राईले अब प्रदेशहरु बीच हुने विकासका होडबाजीमा प्रदेश एकलाई पहिलो बनाउन सबै लागि पर्न राईले आग्रह गर्नुभयो ।

सपथग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले पहिलाको योजनाका कारण विकासका कामहरु दुश्चक्रमा फसेको बताउँदै अब नयाँ योजनाका साथ प्रदेश एकलाई आत्मनिर्भर बनाउने दावी गर्नुभएको छ । उहाँले पहिला आउने योजनाहरु सरकारले बजेट ल्याउने, कर्मचारीले टेण्डर लगाउने र ठेकेदारले विकास गर्ने खालको भएको कारण कुनैपनि काम हुन नसकेको बताउँदै अब त्यस्ता योजनाले काम नगर्ने भन्दै नयाँ योजना अघि सारिने स्पष्ट पार्नुभयो । प्रदेश एकलाई अबको ३ वर्षमा मध्यमकालमा एउटा सम्भावना भएको प्रदेशको रुपमा विकास गरिने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा योजनाले जनतालाई आत्मानिर्भर गरोस्, रोजगारीको सिर्जना भएको होस् भन्नेमा हामी केन्द्रित हुन्छौँ ।’

गएको कात्तिक १४ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश एक योजना आयोगको उपाध्यक्षमा प्याकुरेललाई नियुक्त गरेको थियो भने सदस्यमा थप २ जना भण्डारी र लक्समलाई नियुक्त गरेको हो ।

को–को छन् आयोगमा ?

सप्तरी जिल्लामा जन्मेर विराटनगर बसाईँ सरेर आएका  प्याकुरेल इन्सेकका पूर्व केन्द्रीय अध्यक्ष हुनुहुन्छ । त्यस्तै मोरङको इटहरा स्थायी घर भएकी भण्डारी काठमाडौंमा बस्दै आउनुभएको छ । यसैगरी अर्का सदस्य लक्सम पाँचथर जिल्लाका हुनुहुन्छ ।

अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका उहाँ हङकङ, लण्डनलगायतका देशमा समेत काम गरिसक्नु भएको छ । पछिल्लो समय उहाँ काठमाडौं नै बस्दै आउनु भएको थियो । प्रदेश योजना आयोगमा पाँच सदस्य रहने छन् । २ जना सदस्य नियुक्त गर्न बाँकी नै रहेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया