इंग्लिस प्रिमियर लिग : लिभरपुलको उत्कृष्ट कमब्याक, चेल्सी पराजित

 मंसिर २०, २०७५ बिहिबार १२:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र टोटनह्याम विजयी हुँदा चेल्सी भने पराजित भएको छ ।

एक गोलले पछि परेको अवस्थामा लिभरपुलले उत्कृष्ट कमब्याक गर्न सफल भयो । ब्रुन्लीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा एक गोल खाँदा तीन गोल गर्न सफल भयो ।

खेलको ५४ औं मिनेटमा कोर्कको गोलमार्फत ब्रुन्लीले अग्रता बनाएको थियो । एक गोलले पछि परेको लिभरपुलले आधाघण्टा भन्दा कम समयमा तीन गोल फर्कायो । जसमा ६२ औं मिनेटमा जेम्स मिल्नरले गोल गरे भने ६९ औ मिनेटमा रोबेर्टो फेरमिन्होले दोस्रो गोल गरे । त्यसपछि खेलको अन्तिम समयमा जेर्दान साकिरीले गोल गर्दै लिभरपूललाई तीन अंक दिलाए । जितपछि लिभरपूलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता दुई अंकमा झारेको छ । सिटीको ४१ अंक छ भने लिभरपुलको ३९ अंक भएको छ ।

अर्को खेलमा चेल्सी भने उल्भरह्याम्टनसँग दुई एकले पराजित भयो । जारी लिगमा दोस्रो हार ब्यहोर्ने क्रममा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा लोफ्टुस चिकको गोल मार्फत चेल्सीले अग्रता बनाएको थियो, जुन पहिलो हाफसम्म कायम रहेको थियो ।

तर ५९ मिनेटमा जिमीनेजले गोल गर्दै उल्भ्सलाई बराबरीमा पुर्याए । ८३ औं मिनेटमा फेरी डियोगो जोटाको गोलमा चेल्सी दुई एकले स्तब्ध बन्यो । यता टोटनह्यामले साउथह्याम्टनलाई तीन एकले पाखा लगायो । उसका लागि हेरी केन, लुकास मोउरा र सन हुङ मिङले एक–एक गोल गरे ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया