परिषदबाट पारित गराएरमात्रै बजेट कार्यान्वयन गर्न स्थानीय तहलाई अर्थमन्त्रीको आग्रह

 मंसिर २०, २०७५ बिहिबार १४:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराउनु भएको छ ।

२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराउनु भएको हो । अर्थमन्त्री खतिवडाले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी पनि दिनुभयो । 

बिहिबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठ्यारोमा पार्नेतर्फ पनि सबै स्थानीय तहको गम्भीर ध्यानाकर्षण गराउनु भयो । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले विकास निर्माणको  कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भईनसकेकाले सबै खालको वित्तिय सहायता हस्तान्तरण गर्न नसकिएको पनि दोहोर्‍याउनु भयो । 

प्रदेश मुख्यमन्त्री र अर्थ मन्त्रीहरु सहभागी रहेको परिषदको बैठकमा संघ र प्रदेश सरकारको अहिलेसम्मको कामको पनि समीक्षा हुने अर्थ सचिव डा. राजन खनालले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया