जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

 मंसिर २०, २०७५ बिहिबार १४:२७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाडाैं - राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपति भण्डारी पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा भाग लिई बिहीबार बिहान स्वदेश फर्कनु भएको हो । उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

त्यस अवसरमा उहाँको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनबाट  हुने नकारात्मक असर न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघसँग सहकार्य गरेर अघि बढने विषयमा गम्भीर छलफल गर्नु भएकाे भ्रमण दलमा संलग्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनु भयो ।

विमानस्थलमा पत्रकार सम्मेलन गरी उहाँले सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुखहरुसँग पनि राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनीकरण गर्ने विषयमा औपचारिक-अनौपचारिक छलफल गर्नु भएको पनि बताउनु भयो ।

सम्मेलनकै अवसर पारेर राष्ट्रपति भण्डारीले पोल्याण्डका राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडासँग पनि द्धिपक्षीय भेटवार्ता गर्नु भएको छ । भेट दुवै देशबीचको सम्बन्ध विस्तार गर्न फलदायी भएको पनि मन्त्री बस्नेतले बताउनु भयो ।

सम्मेलनका क्रममा राष्ट्रपति भण्डारीले पोल्याण्डमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नु भएको थियो । पोल्याण्डको कातोबीजेमा मंसिर १६ गतेदेखि सुरु भएको सम्मेलन आगामी मंसीर २८ गते सम्पन्न हुनेछ ।

राष्ट्रपति भण्डारी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेर स्वदेश फर्कनु भएको हो । सम्मेलनमा १ सय ९६ मुलुकका प्रतिनिधिहरु सहभागी भएका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया