व्यवसायी भन्छन् : बैंकले ब्याज धेरै दिए भनेर मख्ख नपरौँ, धान्नै नसक्ने गरी लिन्छन् पनि

 मंसिर २०, २०७५ बिहिबार १६:२८:१४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – बैंकहरुले भद्र सहमति भंग गर्दै व्यक्तिगत मुद्दती निक्षेपमा धेरै ब्याज दिन तँछाडमछाड गरिरहेका छन् । कर्जायाेग्य रकमको अभाव भएपछि बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने विज्ञापन गरिरहेका छन् ।

बैंकहरुले प्रतिस्पर्धा गरेर व्यक्तिगत मुद्दती निक्षेपमा धेरै ब्याज दिन थालेको भन्दै बचतकर्ता मख्ख पर्न थालेका छन् । 

तर उद्योगी व्यवसायीले भने बैंकहरुले पैसा असुल्न बठ्याइँ गरेको बताएका छन् । बैंकहरुले ब्याज धेरै लिने मात्र होइन ऋण बढेको पत्र पनि सँगै पठाउन थालेको व्यवसायीले बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले ट्वीट गर्दै भन्नुभएको छ । ‘बैकहरुको भद्र सहमति भंग । मुद्दती खातामा ब्याज बढाएर पैसा तान्नै होडबाजी सुरु। नयाँ दरमा डिपोजिट आउन सुरू नहुदै ऋणको ब्याज दर बढाउने पत्र आउन थाले ।’

 

शेयर झन घट्न सक्छ, व्यापारीको टाउको दुखाइ सुरु भयो

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकले मुद्दती निक्षेपमा ब्याज धेरै दिने निर्णय राम्रो भए पनि त्यसले धेरै असर निम्त्याउने बताउनुभयो । उहाँले बैंकले मुद्दती निक्षेपको ब्याज धेरै दिने निर्णय गरिरहँदा ऋणको ब्याजदर पनि बढाउने निर्णय गरिहाल्ने भन्दै यसबाट उद्योगी व्यवसायी मर्कामा पर्ने बताउनुभयो । 

‘अब बैंकहरुले ऋणको ब्याज पनि स्वतः बढाइहाल्छन्, त्यसबाट उद्योगी व्यवसायी मर्कामा पर्नेछन्, बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्न सकिने अवस्था रहन्न । त्यसैले शेयरबजार झनै घटन सक्छ, घरजग्गा कारोबार गर्नेहरु ठूलो मर्कामा पर्ने देखियो’, महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘बैंकहरुले ब्याजदर बढाउँदा महँगी पनि बढ्न सक्छ, बजार अनियन्त्रित होला भन्ने डर पनि उत्तिकै छ ।’

सरकारले विकास बजेट खर्च गर्न नसक्दा तरलता अभाव बढेको र त्यसको असर ब्याजदरमा परेको उहाँको भनाई छ । 

बैंकहरु संयमित हुनुपर्‍यो : भट्टराई

पूर्व बैंकर तथा विश्लेषक अनलराज भट्टराई ब्याजदरको मामलामा बैंकहरु संयमित हुनुपर्ने बताउनुहुन्छ । अहिले ब्यक्तिगत मुद्धती निक्षेपमा मात्रै बैंकहरुले ब्याज धेरै दिने निर्णय गरेकाले धेरै आत्तिन पनि नपर्ने नेपाल उद्योग परिसंघको बैंकिङ समितिका सभापति अनलराज भट्टराईको भनाई छ । बैंकहरुको भद्र सहमति कार्यान्वयनमा छँदा ब्याजदर स्थिर रहे पनि अब सहमति तोडिएकाले ब्याजदर अस्थिर हुने डर बढेको उहाँको भनाई छ । 

बैंकहरुको स्रोत नहुँदा अहिले कर्जा अभाव रहेको र त्यसैको पूर्तिको लागि व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिन बैंकहरु तयार रहेको भट्टराईको भनाई  । यसले विस्तारै समस्या निम्त्याउने भन्दै राष्ट्र बैंक र बैंकर्स एसोसिएसनले बेलैमा समाधानको उपाय निकाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

यसै पनि ब्याजदर चर्को हुँदा व्यवसाय गर्न मुश्किल परिरहेको बेलामा यस्ता समस्या आउनु राम्रो संकेत नभएको पूर्व बैंकर्स तथा नेपाल उद्योग परिसंघको बैंकिङ समितिका सभापति अनलराज भटटराईको दावी छ । 

यो समस्या नै हो, मिलेर समाधान गरौँ : बैकर्स

बैंकहरुले आफू बाध्यतामा परेको भएर नै धेरै ब्याज दिने र धेरै ब्याज लिन बाध्य भएको बताएका छन् । ऋणको माग बढेको तर बैंकसँग ऋणयोग्य रकम नै नभएकाले रकम जम्मा गर्न उच्च ब्याजदरमा मुद्दती निक्षेप जम्मा गर्न थालिएको उनीहरुको भनाई छ ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले महँगो ब्याजदरमा निक्षेप जम्मा गर्दा ऋणको ब्याज पनि महँगै लिनुपर्ने बाध्यता रहेको बताउनुभयो । 

‘मार्केटमा ऋणको माग बढ्दो छ, हामीसँग अमाउन्ट छैन भनेपछि त केही उपाय गर्नुपर्यो भनेर यस्तो गरिएको हो, यसले समग्र मार्केटलाई असर त गर्छ नै’,  सीईओ खुञ्जेलीले भन्नुभयो । 

व्यापारीले भनेझैँ यसले शेयर बजारदेखि घरजग्गा हुँदै मूल्यवृद्धिसम्मै असर पर्ने भएकाले निक्षेप र ऋणको ब्याजदरको बारेमा नेपाल बैंकर्स एसोसिएसन र राष्ट्र बैक अनि बैंक मिलेर समाधान खोज्नुपर्ने उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया