भ्रष्ट र गुण्डालाई समाप्त पार्ने गृहमन्त्री थापाको चेतावनी

 जेठ ३०, २०७५ बुधबार १३:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट र गुण्डाहरुलाई समाप्त पार्ने चेतावनी दिनु भएको छ ।

गृहमन्त्री थापाले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गर्नु भएको छ । 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले समृद्धि चाहने हरेकले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने सरकारको अभियानमा साथ दिने विश्वास पनि व्यक्त गर्नु भयो । 

गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाँले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । गृहमन्त्री थापाले असुली धन्दामा प्रहरीसमेतको संलग्नता हुने गरेको बताउँदै त्यस्ता तत्वलाई पनि निष्तेज पार्ने चेतावनी दिनुभयो ।

गृहमन्त्री थापाले कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने पनि स्पष्ट पार्नु भयो । उहाँले सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा बाधकको रुपमा रहेको ऐन, कानुनलाई परिमार्जन गर्दै लैजाने नीति लिएको समेत बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया