आफूलाई कुटी घाइते बनाउनेसँग दुई हजार उपचार खर्च माग्दा नदिएपछि हत्या

 मंसिर २०, २०७५ बिहिबार १८:०:२७ | राजु लामिछाने

रुकुम पश्चिम –  रुकुम पश्चिममा कुटपिटका कारण एक व्यक्तिको ज्यान गएको छ । आठबीसकोट नगरपालिका –५, का २८ वर्षीय धनबहादुर बिकले त्यसै वडाका २२ वर्षीय रबिन सार्कीको हत्या गरेका हुन् । 

व्यक्तिगत रिसिइवीका कारण बिकले सार्कीलाई कुटपिट गरेका थिए । गएको मंसिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा बिकले वडा नं. ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार सार्कीले घटना हुनुभन्दा पहिला बिकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको दुई हजार नदिएपछि बिकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

घटनाको अनुसन्धान भैरहे पनि प्रारम्भिक अनुसन्धानका क्रममा दुई हजार नदिएकै झोँकमा बिकले सार्कीलाई कुटपिट गरेको खुलेको डीएसपी खड्काले जानकारी दिनुभयो । 

सार्कीको उपचारको क्रममा गएको मंसिर ११ गते मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । कुटपिटपछि फरार भएका बिकलाई मंसिर १० गते नै जाजरकोटको बगराबाट पक्राउ गरे पनि प्रहरीले आज सार्वजनिक गरेको हो । जिल्ला अदालतबाट म्याद थपेर उनलाई थुनामा राखी घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया