मास्क लगाएर मात्रै धुलो धुवाँबाट जोगिन सकिँदैन

 मंसिर २०, २०७५ बिहिबार १८:४:४६ | विना न्याैपाने
unn.prixa.net

प्रदूषण र काठमाडौं पर्यायवाची जस्तै भैसकेको छ । फोहोर, धुलोधुवाँले पहिलेदेखि नै प्रदूषित काठमाडौं उपत्यकालाई अव्यवस्थित शहरीकरणले पनि असर गरेको छ । काठमाडौंमा किन प्रदूषण बढिरहेको छ ? यसले कस्तो असर पार्दैछ ? अनि, यो समस्याको समाधानका कसरी गर्न सकिन्छ ? यसै विषयमा साथी विना न्यौपानेले ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा कार्यरत डा. रवि महतसँग कुराकानी गर्नु भएको छ । 

वायु प्रदूषणलाई कसरी बुझ्ने ?

वायुमण्डलमा अक्सिजन, कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन आदि ग्यासहरु एक निश्चित अनुपातमा रहेका हुन्छन् । यिनै ग्यासहरु बीचको अनुपात सन्तुलनमा समस्या आउँदा देखा पर्ने समस्यालाई वायु प्रदुषणको अवस्था भनिन्छ । वायुमा रहेका कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन लगायतका ग्यासहरु माटो तथा धुलो धुवाँका कण हुन्, जसले वायुलाई प्रदूषित बनाउँछ । 

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको अवस्था कस्तो रहेको छ ? 

नेपालमा वायु गुणस्तरसम्बन्धी मापदण्ड, अनुसार धुलो पीएम २.५ अर्थात ४० माइक्रोग्राम भन्दा बढी हुनु हुँदैन । यसैगरी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन । तर काठमाडौं उपत्यकामा हिउँदको समयमा अझै बढी हुन्छ । काठमाडौँ उपत्यकाको वायु प्रदुषण अवस्था कस्तो छ जान्न वातावरण विभागले उपत्यकाका विभिन्न ६ वटा स्थानमा वायु प्रदुषण मापक यन्त्रहरु जडान गरेको छ ।

यिनै यन्त्रको हालको रिपोर्ट हेर्ने हो भने मानिसको अत्याधिक चहलपहल हुने काठमाडौँ महानगरपालिका क्षेत्र रत्नपार्कमा सबैभन्दा बढी देखिएको छ । 
के कारणले गर्दा उपत्यकामा वायु प्रदूषणको मात्रा बढेको हो ?

काठमाडौ उपत्यका सामान्य कचौरा आकारको बनावट छ त्यसैले गर्दा पनि हो । चारैतिर पहाडहरुले घेरेको र बीचमा समथर रहेको भूभाग रहेको छ । जसको प्राकृतिक बनावट कचौरा आकारको छ । कचौरा आकारको भएकै कारण उपत्यकामा उत्पन्न भएका र विभिन्न माध्यमद्वारा उपत्यका बाहिरबाट भित्रिएका वायु प्रदूषणका कारक धुलो, धुवाँ लगायतका तत्वहरु त्यति सजिलै उपत्यका बाहिर निस्कन सक्दैन । 

यो एउटा पक्ष हो काठमाडौँको वायु प्रदूषण बढ्दै जानुको । त्यस्तै निम्न कारणले पनि वायु प्रदुषण बढेको छ :

— पेट्रोलियम पदार्थबाट गुड्ने गाडीले उत्पादन गरेको धुवाँ
— विकास निर्माणका कार्यबाट उत्पादन भैरहेको धुलो
— फोहोर र कृषिजन्य पदार्थ जलाउँदा निस्कने धुवाँ
— ईंट्टा भट्टाबाट निस्कने धुवाँ

वायु प्रदूषणले कस्तो असर गर्छ ?

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा पर्ने असरहरु २ प्रकारका छन् ।

१. एउटा हो तत्काल पार्ने असर; यसमा छाला चिलाउने, आँखा चिलाउने, खोकी लाग्ने, हाच्छ्उिँ आउने, छाति घ्यारघ्यार हुने जस्ता समस्या देखा पर्छन् ।  
२. दीर्घकालीन असर 

स्वास्थ्यमा दीर्घकालीन असर पनि पर्छ । दीर्घकालिन असरमा श्वासप्रश्वास र रक्तनलीमा समस्या ल्याउँछ । श्वाप्रश्वास  अन्तर्गत, लामो समयसम्म दमको समस्या हुने, फोक्सोमा क्यान्सर हुने जोखिम बढ्छ । रक्तनलीमा पनि प्रदूषणले धेरै असर गर्छ । जस्तै, रगत जम्ने समस्या, मुटु रोग, हृदयाघात, क्यान्सर रोग, मस्तिष्क घात हुने जस्ता समस्या निम्त्याउने हुन्छ  । 

धुवाँ धुलोले असर गरेको भनेर कसरी थाहा पाउन सकिन्छ ? 

श्वासप्रश्वासको समस्या धेरै देखियो भने, लामो समयसम्म रुघा खाकी लागिरहने, श्वास फेर्न गाह्रो हुने, बारम्बार श्वास फेर्दा घाँटी घ्यारघ्यार हुने भयो भने धुवाँ धुलोको असर भनेर बुझ्नु पर्छ । अहिले बढेको प्रदुषणको हामीले प्रत्यक्ष रुपमा नै महसुस गरेका छौं । हरेक अस्पतालमा श्वासप्रश्वासको समस्या भएका बिरामी बढिरहेका छन् । 

मुख्य सडकको नजिक बस्ने र टाढा बस्नेलाई गर्ने असर एउटै हुन्छ कि फरक हुन्छ ? 

जो सडक छेउमा बस्नुहुन्छ, उहाँलाई गर्ने असर र जो टाढा बस्नुहुन्छ गर्ने असर फरक हुन्छ । सडक छेउमा धुवाँधुलो धेरै हुने भएकाले गर्ने असर बढी त हुन्छ । तर वायु बहने भएकाले असर टाढाकोलाई नगर्ने भन्ने हुँदैन । 

धुलो र धुवाँमा कुनले धेरै असर गर्छ ?

बाटोमा उड्ने धुलोले भन्दा कलकारखाना तथा गाडीले निकाल्ने धुवाँ, केमिकलहरुले धेरै प्रभाव पार्छ । धुलोको साईज ठूलो हुन्छ । त्यसैले भित्र फोक्सोसम्म पुग्न सक्दैन । तर यसमा हुने ग्यासहरु भित्री भागसम्म पुग्ने तथा रगतमा पनि असर गर्ने हुन्छ । १० माइग्रोन भन्दा कम साइज अथवा २.५ माइग्रोन भन्दा सानो साईजले धेरै असर गरेको हुन्छ । ग्यासहरुमा सल्फर डाइअक्साइड, वजन, नाइट्रस अक्साइडले अझै धेरै असर गर्छ । 

प्रदूषणबाट बच्न के गर्न सकिन्छ त ? 

सबैभन्दा महत्वपूर्ण भनेको यो समाज अनि सरकारले कसरी बच्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कसरी प्रदूषण हटाउन सकिन्छ भनेर दीर्घकालीन योजना बनाउनु पर्छ । मास्क लगाएर मात्रै सबै प्रदूषण रोक्ने पनि होइन । माक्स लगाउँदा पनि एन ९५ लगायो भने रोक्ने हो, त्यसले पनि हानिकारक ग्यास रोक्न सक्दैन । त्यो सबैको पहुँचमा पनि  छैन र २४ घण्टा नै माक्स लगाएर बस्न पनि सम्भव छैन । 

अझै कपडाको माक्सले त कुनै काम गर्दैन । मेडिकल मास्क पनि एक पटकको लागि मात्रै हो । काठमाडौं कचौरा जस्तो भएकोले जति चिसो बढ्दै जान्छ, हानिकारक तत्वहरु तल तल आउने भएकाले जसलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ, अनि बालक तथा वृद्धवृद्धा बिहान तथा बेलुका घरबाट बाहिर निस्कनु हुँदैन ।

घरभित्र आगो बाल्ने, धुप बाल्ने, हिटर तथा क्युरोसिन बाल्ने गर्नाले पनि धेरै असर गरेको हुन्छ । गाउँघरमा बालिने गुइँठा, दाउराले पनि प्रदूषण बढाएको हुन्छ । त्यसैले घरभित्रको प्रदूषण आफैंले घटाउन सकिन्छ भने घर बाहिरको घटाउन सरकार नै लाग्नु पर्ने हुन्छ । 

पछिल्ला वर्षहरुमा वायु प्रदूषण कम गर्न भन्दै बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले अभियान चलाउँदै आएका छन् । तर समस्या कम हुन सकेको छैन । उल्टै बढ्दो क्रममा गएको छ । त्यसैले काठमाडौंलाई प्रदूषणमुक्त बनाउन गैरसरकारी संस्था, सरकारी निकाय वा अन्तरराष्ट्रिय क्षेत्रले हेरेर मात्रै पुग्दैन ।

नागरिक तहबाट पनि उत्तरदायित्व पूरा गर्नु आवश्यक देखिन्छ साथै वायु प्रदुषण उच्च हुँदै जाँदा यसले काठमाडौंको प्राकृतिक स्वरुप र जीव विज्ञानमा पार्ने असर सबैको चासो बन्न आवश्यक देखिन्छ ।


 

अन्तिम अपडेट: मंसिर २८, २०७५

तपाईको प्रतिक्रिया