साइकल भएपछि विदेश जान परेन

 मंसिर २१, २०७५ शुक्रबार १२:१०:३३ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडाै‌ं – टाढैबाट ग्राहकलाई आकर्षित गर्ने मन्द मुस्कान, हल्का कालो वर्ण, ठिक्कको कद । महोत्तरी बर्दिवासका सन्तोष शाह काठमाडौंमा केरा व्यापार गर्नुहुन्छ । व्यापार गर्न ठूलै लगानी चाहिन्छ भन्नेहरुलाई सन्तोषले गतिलो जवाफ दिनुभएको छ । पुरानो साइकलमा राखेर डुलाउँदै केरा बेच्नुहुन्छ । यसरी बेच्दा दैनिक चारदेखि ६ हजार रुपैयाँसम्मको व्यापार हुन्छ । जसबाट उहाँले लगानी कटाएर दुई हजार जति आम्दानी गर्नुहुन्छ ।

आफू सँगैका साथीहरु सबै विदेशिए । कोही खाडी त कोही भारततिर पसे । महोत्तरीबाट भारत जान सजिलो पर्छ । तर आफ्नो देशमा काम गरेजति रमाईलो भारतमा नहुने जस्तो लागेर उहाँ काठमाडौं आउनुभयो । गाउँका केही साथी यतै थिए । त्यसैले सन्तोषलाई काम गर्न अप्ठ्यारो भएन । साथीहरुले गरेकै काम थाल्नुभयो ।

१२ वर्ष पहिले काठमाडौंमा २० रुपैयाँ दर्जन केरा बेच्दा सन्तोषको उमेर १५ वर्षको थियो । कतिपटक अल्लारे केटाहरुले डालाबाट केरा लिएर हिँडे, कतिले झगडा गरे, कतिपटक त नगरप्रहरीले उहाँको साइकल नै कब्जा गर्यो । तर पनि सन्तोषलाई यो काम छाडेर अरु काम गर्ने कुरा मनमा आएन । 

सुरुमा उहाँले साथीकै पुरानो साइकलमा राखेर केरा बेच्नुभयो । केही महिनामै आफैंले नयाँ साइकल किन्नुभयो, पाँच हजार रुपैयाँमा । अहिले पनि त्यही साइकलले धानिरहेको छ सन्तोषको व्यापार । ‘खुबै माया लाग्छ साइकलको’ सन्तोष हाँस्दै भन्नुहुन्छ, ‘साइकल भए किन विदेश जाने ?’

कक्षा सातमा पढ्दै गर्दा सन्तोषलाई अब कमाउनुपर्छ भन्ने लाग्यो । हाँसखेल गर्ने उमेरमा कसरी कमाउने भन्ने गाह्रो थियो । ‘घरमा आम्दानीको बाटो केही थिएन । बाबा दिनभरी काम गर्नुहुन्थ्यो । तर पनि घरमा विभिन्न समस्या भइरहन्थे । आफैले कमायो भने त पेटभरी खान र राम्रो लाउन पाईन्छ भन्ने लाग्यो । अनि के थियो र, म त काठमाडौं आइहालें’ उहाँले त्यो क्षण सम्झनुभयो ।

अझै पनि सन्तोषको बोलीमा आफ्नो गाउँले लबज झल्किन्छ । सबैसँग मायालु तरिकाले प्रस्तुत हुने उहाँसँग बोल्ने बेग्लै खुबी छ । ‘मैले पढ्न नपाएकोमा कुनै पश्चाताप छैन, छोराछोरीलाई भने धेरै पढाउने रहर छ’ सन्तोष भन्नुहुन्छ, ‘अब पहिलेको जस्तो नपढाउने र नपढ्ने जमाना कहाँ रह्यो र ?’

सन्तोष बिहान सबेरै उठेर बल्खुबाट एकसय दर्जन जति केरा किनेर ल्याउनुहुन्छ । साइकलमै एकसय दर्जन केरा बोकेर फलफूल पसलहरुमा पुर्याउनुहुन्छ । केराले छपक्क ढाक्नेगरी राखिएको साइकल कुदाउने बानी परिसकेको छ सन्तोषलाई । 

बल्खुबाट होलसेलमा केरा ल्याउँदा एक दर्जनको ४० देखि ५० रुपैयाँसम्म पर्छ । फलफूल पसलमा केही दर्जन केरा ७० रुपैयाँका दरले बेचेर बाँकी आफैं साइकलमा राखेर डुलाउनुहुन्छ । ‘आफैंले बेच्दा एकसय रुपैयाँ दर्जनमा बेचिन्छ, त्यही भएर बढी नाफा हुन्छ,’ उहाँले हिसाब गर्दै भन्नुभयो, ‘८० दर्जन बेचिए पनि चारहजार जतिको व्यापार भैहाल्यो, त्यसमा कमाई ५० प्रतिशत हुन्छ ।’ 

अहिलेसम्म कति कमाएँ भन्ने सन्तोषसँग ठ्याक्कै हिसाब छैन । तर आफूले विवाह गरेको, भाइलाई विदेश पठाएको, गाउँमा सानो जग्गा किनेको, घरखर्च चलाएको, दुई छोराछोरीलाई स्कुल पढाएको र घर बनाउनको लागि भनेर साँचेको बीस लाखजति रुपैयाँको हिसाब गर्दा ठिकै कमाएछु जस्तो लाग्छ सन्तोषलाई ।

‘मैले राम्रो पढाई गरेको छैन, मलाई यस्तो काम गर्न लाज लाग्दैन,’ सन्तोष भन्नुहुन्छ, ‘तर मैले यहाँ धेरै पढेर पनि विदेश गएर तल्लो तहको काम गर्नेहरु देखेको छुँ, आफ्नो गाउँठाउँमा कसरी त्यस्तो काम गर्ने भनेर उनीहरु आफैं भन्छन् ।’

सन्तोष अहिले ललितपुर, लगनखेलमा भाडाको कोठमा बस्नुहुन्छ । ‘साथीहरुसँग बस्दा पैसा बच्ने र सुखदुःखमा सजिलो पनि हुने भएकाले साथीहरु मिलेर बसेका छौं, अरु साथीहरु पनि यस्तै काम गर्नुहुन्छ ।’ सन्तोषसँग सबैलाई बाँड्ने एउटा ज्ञान छ, भन्नुहुन्छ, ‘कति कमाएँ भन्ने ठूलो कुरा होइन, कति बचाएँ भन्ने ठूलो कुरा हो ।’  
 

अन्तिम अपडेट: मंसिर २७, २०७५

बेदानन्द जाेशी

समसामयिक विषयमा कलम चलाउने बेदानन्द जाेशीलाई फेसबुकट्वीटरमा भेट्न सकिन्छ । 

तपाईको प्रतिक्रिया