‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा झण्डै २ सय उद्योग-प्रतिष्ठान सूचीकृत

 मंसिर २१, २०७५ शुक्रबार १५:२१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग-प्रतिष्ठान सामेल भएका छन् ।

सामाजिक सुरक्षा कोषले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर २० गतेसम्म सो कार्यक्रममा १ सय ९६ वटा उद्योग-प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो ।

कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मंसिर ६ गतेदेखि सो कार्यक्रममा सामेल हुन आवेदन खुला गरिएको पनि बताउनु भयो । त्यसैगरी १ सय ९४ जना रोजगारदाता पनि सो कार्यक्रमको सूचिकरण प्रक्रियामा सामेल भएका छन् ।

सूचिकरण प्रक्रियालाई सहज बनाउन अनलाइन सेवा सञ्चालन गरिएको पनि कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले ३ महिना भित्र संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको पनि जानकारी दिनु भयो ।

कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउन पनि सबैलाई आह्वान गरेको छ । श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी ओलीले गएकाे मंसिर ११ गते सो कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ ।

कोषले रोजगारदाता सूचिकरणलाई व्यवस्थित बनाउन ३५ जना कर्मचारीलाई परिचालन गरेको छ । सूचिकरणका लागि अनलाइनबाटै निवेदन दिन पनि कोषले आह्वान गरेको छ ।

काेषमा श्रमिकको रकम जम्मा नगर्ने रोजगारदाताको बैंक तथा वित्तीय संस्थामा रहेको खाता, चल-अचल सम्पत्तिदेखि राहदानी समेत रोक्का गर्ने कानुनी प्रावधान छ ।

 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया