श्रीमानका नाममा चार लाख लुटिएको थाहै भएन नागिया खातुनलाई (भिडियोसहित)

 मंसिर २१, २०७५ शुक्रबार १७:२१:४७ | सन्जिता देवकोटा

मलेसियामा अहिले संगठित रुपले नेपाली कामदार ठगिन थालेका छन् । मलेसियामा गर्दागर्दैको काम छुटाएर कामदारलाई अबैधानिक बनाइदिने, अबैधानिक भएपछि कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अबैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा नेपाली दूतावासको नाम प्रयोग गरी कामदारको परिवारलाई नेपालमा ठग्ने संगठित धन्दा गर्ने गिरोहको फन्दामा अहिलेसम्म दर्जनभन्दा धेरै परिवार परिसकेका छन् ।

यसरी फन्दामा परेका चार परिवारको कथाव्यथाको श्रृंखला हो 'मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै' । यो श्रृंखलामा आज प्रस्तुत छ रौतहटका संसाद मिया र नागिया खातुन लुटिएको कथा । 


काठमाडौं – विदेश गएकै कारण ऋण र पीर थपियो । भएको जायजेथा पनि सकियो । मलेसियाबाट घर फर्काउँछु भन्दै दलालले ४ लाख रुपैयाँ ठग्यो । अब के गर्ने ? रौतहटका संसाद मिया काठमाडौंमा भाै‌ंतारिरहनुभएको छ । 

ठग्ने दलाल भेटिएलान् कि नभेटिएलान्, मलेसियाबाट आफूलाई घर फर्काउन परिवारले बेचेको सात कठ्ठा जग्गा फेरि किन्न नसकिएला भन्ने चिन्ता र अन्योल छ उहाँको मनमा । 

सय कडा पाँचमा काढेको ऋण दिनहुँ बढिरहेको छ । बढेको ऋणको हिसाबकिताब छ, तर विदेशमा पाएको दुःख, दलालले परिवारलाई दिएको मानसिक यातनाको त हिसाबै नगरौं भन्नुहुन्छ उहाँ । 

बुवा, आमा र श्रीमतीको उपचार गर्दा ऋण लागेपछि तय भएको थियो संसादको मलेसिया यात्रा । एक वर्षअघि सन् २०१८ को जनवरीमा काम गर्न मलेसिया लागेदेखि नै सुरु भयो उहाँको दुःखको कहानी । १ लाख ४० हजार रुपैयाँ तिरेर कमाउन गएका संसादलाई घर फर्किनका लागि ४ लाख रुपैयाँ बुझाउनु पर्‍यो ।

ए सिक्स म्यानपावरले चकलेट कम्पनीमा काम हुन्छ, भनेको थियो उहाँलाई । १३ सय ७४ रिंगिट मासिक तलब पाउने सम्झौता भएको थियो । तर म्यानपावरले भनेअनुसार मलेसियामा काम भएन् । 

‘सम्झौता अनुसार कहाँ काम पाइयो र, आठ घण्टाकै १२ सय हुन्छ भनेर सम्झौता गरेको तर काम गर्ने कुनै समय थिएन, बिहानदेखि रातीसम्मै काम गर्नु पर्ने,’ संसाद सुनाउनुहुन्छ ।  जति घण्टा काम गरेपनि तलब भने कहिले एक हजार रिंगिट त, कहिले ११ सय रिंगिट आउँथ्यो । काम गाह्रो, दाम पाउन चाहिँ झन् साह्रो । 

संसादले दलाललाई आफूलाई नेपाल फर्काइदिन आग्रह गर्नुभयो । तर दलालले उहाँको कुरा सुन्नै मानेनन् । ‘म पठाउने काम गर्छु, फर्काउने काम गर्दिन, जे गर्छस् गर, म बोलाउँदिन भन्यो,’ घर फर्काइदिन आग्रह गर्दा दलालले गरेको बेवास्ता सुनाउनुभयो संसादले । 

गाउँकै निर शाह हुन्, उहाँलाई विदेश जाने चाँजोपाँजो मिलाउने मान्छे । संसादले श्रीमतीलाई पनि दलालसँग अनुरोध गर्न भन्नुभयो । तर दुवैको अनुरोध दलालले सुनेन । 

चार महिना काम गर्नुभयो, म्यानपावरले पठाएको कम्पनीमा । म्यानपावरले गरेको झुटो वाचा सम्झँदा काम गर्ने बाध्यता हराउँथ्यो । र पनि काम नगरी सुखै थिएन । मे २०१८ मा एक महिना काम गरेको तलब र कम्पनी छाडेर भाग्नुभयो । 

‘त्यो कम्पनी छाडेर गम प्याक गर्ने काममा गएँ, उसले ३० दिनको १८ सय दिन्छु भनेको थियो, त्यहाँ पनि १६ सय भन्दा त मिलेन’ संसाद भन्नुहुन्छ । 

अवैधानिक रुपमा पनि उहाँले धेरै समय काम गर्न पाउनुभएन । एक महिनाको तलब थाप्नुभयो । दोस्रो महिनाको तलब लिने बेला प्रहरीले पक्रियो । १ अगष्टमा पक्राउ परेका संसादलाई भोलिपल्ट अदालतमा लग्यो प्रहरीले । 

अदालतले उहाँलाई दुई विकल्प दियो । कि जरीवाना तिर्नुपर्ने कि जेल बस्नुपर्ने । संसादसँग त्यो बेला साथमा पैसा थियो । एक हजार रिंगिट तिर्नुभयो अदालतमा । 

‘त्यसपछि मलाई घरफिर्ती केन्द्रमा ल्याइयो, मैले फाइन (जरिवाना) तिरेकाले जेल बस्न परेन, तर जेलमा जतिकै दुःख हुनेरहेछ नि त्यो घरफिर्ती केन्द्रमा पनि,’ संसादले आफ्नो भोगाई सुनाउनुभयो । 

लेङगेङ घरफिर्ती केन्द्रमा बसेको एक हप्तापछि उहाँलाई प्रहरीले एउटा फारम भरायो । त्यसमा आफ्नो विवरण लेख्नुपर्ने थियो । 

‘फारम भरेको भोलिपल्ट प्रहरीले तिम्रो दूतावासले फोन गरेको छ आउ भने, उताबाट मेरो नामले बोलाउँदै तिमी घर जाने कि नजाने भन्यो, मैले जाने भने,’ संसादले दलालसँग भएको पहिलो कुराकानी सुनाउनुभयो । 

‘कसरी जान्छौं त पैसा चाहिन्छ ।’ ‘मैले सरकारले जसरी सहयोग गर्छ त्यसैगरी जान्छु भनेँ’ संसादले दलाललाई ठाडो जवाफ दिनुभयो । 

‘तँ निकै बाठो छस्, कसरी जान्छस् घर हेरौंला, भन्दै गाली गर्‍यो नि,’  दलालले फोनमै गाली गरेको सम्झँदै उहाँले भन्नुभयो, ‘तेरो घरको नम्बर पत्ता लगाइसकेको छु, तेरो बुढीसँग कुरा गर भन्यो ।’

श्रीमतीसँग बोल्ने चाँजो त्यही दलालले नै मिलाइदियो । आफू समस्यामा भएको कुरा सुनाउनुभयो संसादले श्रीमतीसँग । टिकटका लागि दलालले मागेको पैसा दिन पनि आग्रह गर्नुभयो । 

‘बुढीसँग धेरै बोल्न दिएन, बोल्दाबोल्दै काट्यो, त्यसपछि के भयो मैले त्यहाँ छउन्जेल केही थाहा पाइनँ’ संसादले सुनाउनुभयो । संसादले सुन्नुभएको थियो जेलमा मात्रै हो दुःख हुने । घरफिर्ती केन्द्रमा त घर जाने दिन कुर्ने ठाउँ हो । 

त्यही ठानेर नै उहाँले अदालतमा एक हजार रिंगिट बुझाउनुभएको थियो । तर सोचेको जस्तो किन हुन्थ्यो र ? प्रहरीको मनपरी हुन्थ्यो । पिउने पानी थिएन । रातो रंगको पानी पिएपछि कम्तीमा तीन दिन बिरामी पर्नुहुन्थ्यो । 

खाने र बस्नेको त कुरै नगरौं । कोठामा खुट्टा पसारेर बस्ने ठाउँ पनि थिएन । जे होस् दिन र रात कट्यो । महिना कट्यो । पैसा कहाँबाट जुट्यो, उहाँलाई थाहा छैन । 
अक्टोबर १० तारिखका दिन प्रहरीले बोलाए र भने ‘दूतावासबाट तिम्रो टिकट मिलिसक्यो । २५ तारिखमा छ तिम्रो उडान ।’

प्रहरीले २५ तारिखको उडान छ भनेको दिन उहाँलाई लागेको थियो – यो दुःखको खोला पार गराइदिने भगवान नै रहेछन् । आफूले भगवान ठानेको त्यो व्यक्तिको राक्षसी व्यवहार त काठमाडौं ओर्लिएपछि मात्रै थाहा पाउनुभयो संसादले । 

खुट्टा काटिएको छ भन्दै ४ लाख ठगी

अक्टोबर २५ तारिख । मलिन्दो एअरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा कमाएर फर्किन नसके पनि एउटा दुःखलाई उतै बिसाएर फर्किन पाएकोमा नै खुशी हुनुहुन्थ्यो संसाद । 

तर काठमाडौं ओर्लेपछि अर्को आपत आइलाग्यो । आफू जेल पर्दा अनेक बहानामा दलालले चार लाख रुपैयाँ ठगेको संसादले काठमाडौं आएर घरमा फोन गरेपछि मात्रै थाहा पाउनुभएको थियो । 

‘बुढीलाई म नेपाल आइपुगें, घर आउने पैसा छैन भनें, उनले मलाई सिधै भनिन् – त्यत्रो पैसा पठाइसकें, कहाँ गयो त्यो पैसा पो भनिन्’ दलालले ठगेको क्षण थाहा पाउँदाको अवस्था सुनाउनुभयो उहाँले भन्नुभयो । 

‘श्रीमतीले सबै कुरा सुनाइन् फोनमा, म त मर्नै लागेको छ, एउटा खुट्टा कटिइसकेको छ भन्दै श्रीमतीलाई दिनमा १० पटकसम्म पैसा माग्न फोन गर्ने रहेछन् दलालले,’ दलालले श्रीमतीसँग पैसा लिन गरेका बहाना अझै सुनाउनुहुन्छ संसाद ‘मेरो आवाज सुनेकाले उसले पनि होला भन्ठानेर पैसा दिने रहिछ नि, त्यो पनि थोरै हो र, चार लाख रुपैयाँ ठगेछन् ।’

दलालले खुट्टा काटिएको बहानामा चार लाख मात्रै लुटेनन् । ऋणको भारी बोकेर परदेशिएका संसादको जिउने आधार नै लुटिदिए ।

जग्गा बेचेर दलाललाई पैसा दिएँ

श्रीमती नागिया खातुनलाई संसादले समस्यामा छु भनेर नभ्याउँदै फोन राखेपछि अर्को समस्या आइपर्‍यो । दलालको फोन दिनहुँ आउन थाल्यो । दलालले श्रीमानको बारेमा दिएको खबरले उहाँलाई अत्याउन थाल्यो । संसादको अवस्था देखाउदै दलालले नगियासँग पैसा माग्न थाले । 

‘तिम्रो मान्छे बिरामी छ, घाउ आएको छ, उपचार नगरे मर्छ, तत्काल एक लाख पैसा पठाइहाल भन्यो,’ नगियाले भन्नुभयो, ‘तिम्रो मान्छेको एउटा खुट्टा त काटिइसक्यो भन्यो फोनमा, पैसा त पठाउनै पर्‍यो ।’

दलालले पैसा नपठाए तिम्रो मान्छे मर्छ भनेर अत्ताएपछि नागियाले ऋण खोजेर लाख लाख रुपैयाँ उदयपुरका सुमन लिम्बुको नाममा हालिदिनुभयो । 

नागियाले एक लाख पठाएपछि थप पैसा माग्न दलालले अर्को बहाना सुरु गर्न थाले । ‘दिनमै धेरैपटक फोन आउँथ्यो, अब चार हजार रिंगिट पठाइहाल नत्र तिम्रो मान्छेलाई १० वर्ष जेल हुन्छ भन्थ्यो,’ नगिया भन्नुहुन्छ, ‘मेरो मान्छेलाई जेल हुन्छ भने त के गर्नु मान्छेभन्दा ठूलो पैसा त हैन फेरि पनि पैसा हालिदिएको हुँ ।’

श्रीमानसँग उनै दलालले कुरा गराएका थिए । नागियालाई श्रीमानसँग कुरा गराउने दलालको कुरा साँचो हो जस्तो पनि लाग्यो त्यो बेलामा । दलालले फोन गरेर पैसा मागेको कुरा गाउँमा पनि सुनाउनुभयो ।

 सबैले दिएको सुझाव एउटै थियो ‘बिरामी छ भने त पैसा पठाइदेउ ।’ फोन गरेर कसले पैसा मागिरहेको छ भन्नेतिर उहाँको ध्यानै गएन । विदेशमा बिरामी परेका श्रीमानलाई जसरी पनि बचाउनु थियो ।  

पैसा माग्ने दलालले गरेको जाल संसाद काठमाडौं ओर्लिएपछि मात्रै दुवैले थाहा पाए । उहाँले पटक पटक गरेर जम्मा चार लाख रुपैयाँ पैसा पठाइसकेपछि मात्रै संसाद काठमाडौं आइपुग्नुभयो । 

घरफिर्ती केन्द्रमा बसेर घर फर्किएका श्रीमानको कुरा नागियालाई सपना झैं लाग्यो । पैसा त लगिसकेका थिए दलालले । तर खुट्टै छैन भनेका श्रीमानलाई सद्धे देख्न पाउँदा मन शान्ति भयो नगियाको ।

पाँच लाख रुपैयाँ ऋणको भारी बोकेर मलेसिया पुगेका संसादलाई झड्का लाग्यो । ९ लाख रुपैयाँको ऋणको भारी सम्झेरै ज्वरो फुट्यो ।‘मलाई त त्यो सुनेपछि ज्वरो आयो, चारवटा सिरक ओडेर सुतेँ त्यो राती त, हनहनी ज्वरो आएर दुई जनाले त समात्नुपरेको थियो,’ संसादको मन ऋण सम्झँदा अहिले पनि काँप्छ । 

नगियाले चार लाख रुपैयाँ दलाललाई बुझाउन ७ कट्ठा जग्गा बेच्नु पर्‍यो । संसाद घर पुग्दा ऋण र श्रीमानको पिरले नागिया थलिनुभएको थियो । ‘दलालले यति अत्तायो कि म पनि यता बिरामी भएँ,’ नगिया भन्नुहुन्छ । चार दाजुभाइका माइलो छोरा संसादको बुवाले दिएको अंश मलेसियाबाट फर्किँदा सकियो । 

तीन जना छोराछोरीको छन् संसादका । बिरामी श्रीमती ९ को पीरले झनै थलिएकी छन् । दलाललाई बुझाएको पैसाको प्रमाण छ उहाँसँग । तर पैसा लिने व्यक्ति को हुन चिन्नुभएको छैन । दूतावासको नाम बेचेर ठग्ने ती व्यक्ति को हुन भन्ने सुईंको पनि पाउनुभएको छैन । 

संसाद अहिले न्यायका लागि काठमाडौंमा भौतारिरहनुभएको छ । ‘सरकारले के इन्साफ गर्छ हेरौं,’ संसादको निधारमा आशाको धर्को देखिन्छ । 

‘मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै’ अन्तर्गत दोस्रो कथा आइतबार प्रकाशित गर्ने छौं ।


 

अन्तिम अपडेट: पुस २८, २०७५

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया