अशक्तहरुकाे आफ्नै सहकारी : फेरियो दैनिकी

 मंसिर २१, २०७५ शुक्रबार १७:४८:८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – जनगणना २०६८ अनुसार बाजुरा जिल्लामा पाँच हजार आठ सय ९५ फरक क्षमता भएका व्यक्तिहरु रहेको जिल्ला तथ्याङ्क कार्यालयमा उल्लेख छ ।

केही अशक्तहरु, एकल महिला र कुष्टरोगीले आफ्नै सहकारी बनाएर अप्ठ्यारो सारोगारो परेका बेला त्यसैबाट समस्या टार्ने गरेका छन् । बुढीगंगा–९, बारबिसकी बिस्ना लुहार एकल महिला हुनुहुन्छ ।

उहाँ यस अगाडि भाडामा बस्ने गर्नुभएको थियो । प्रगतिशील बहुउदेश्यीय सहकारीको सदस्य बनेपछि त्यहाँबाट ऋण लिएर उहाँले गाउँमा व्यापार गर्नुभयो । व्यापारबाटै उहाँले घडेरी किन्नुभयो र घर पनि बनाउनुभयो ।

बुढीगंगा नगरपालिका–४, केल्देमाडौंका बिष्णुभक्त रेग्मी अपाङ्ग हुनुहुन्छ । अहिले उहाँलगायतका गाउँका सबै अपाङ्ग, एकल महिला र कुष्ठरोगी मिलेर गाउँमा कुल्देमाडौं बहुउद्देश्यीय सहकारी खोल्नुभएको छ ।

उहाँहरु आफूलाई अप्ठ्यारो परेको बेला त्यही सहकारीबाट ऋण लिएर गर्जो टार्नुहुन्छ । रेग्मीले भन्नुहुन्छ, ‘हाम्रो साहाराको सारथी कोही नभएपछि सहकारी बनाएका छौं, घरमा केही सारोगारो परेका बेला कसैलाई भन्नु परेन । सहकारीबाट ऋण लिएने गरेका छौं ।’

समाजमा हेला गरिएका र अछुतको व्यबहार भोग्न बाध्य पारिएकाहरु समेत अहिले सहकारीको सहायताबाट आफ्नो काम गर्न थालेका छन् । कुल्देमाडौं बहुउद्देश्यीय सहकारीमा दुईजना कुष्ठरोगी, प्रगतिशीलमा दुई जना र बडिमालिका बहुउद्देश्यीय सहकारी संस्थामा चार जना कुष्ठरोगीहरु समेत सदस्य बनेर आफ्नो व्यवसाय सुरु गर्नुभएको छ ।

बुढीगंगा नगरपालिका–९, कि रुपा लुहार (नाम परिवर्तन) ले गाउँमा ‘द ल्याप्रोसी मिसन नेपाल’ले सञ्चालन गरेको शिविरमा आफ्नो शरीर जाँच गर्दा कुष्ठरोग भेटियो । अहिले उहाँले औषधी खाइरहनुभएको छ । सहकारीमा सदस्य बनेर उहाँले व्यापार सुरु गर्नुभएको छ ।

स्थानीय तहमै सहकारी दर्ता गर्ने अधिकार पाएपछि अशक्तहरुलाई पनि सहकारी दर्ता गर्न सजिलो भएको हो । कुल्देमाडौं बहुउद्देश्यीय सहकारी संस्था र प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था बुढीगंगा नगरपालिकामा दर्ता भएका सहकारीमध्ये पहिलो र दोस्रो नम्बरमा रहेका छन् । बडिमालिका बहुउद्देश्यीय सहकारी संस्था त्रिवेणी नगरपालिका र समावेशी बहुउद्देश्यीय सहकारी संस्था खप्तड छेडेदह गाउँपालिकामा दर्ता भएको छ ।

अशक्त र असायहरुले आफैँ सहकारी खोलेर व्यवसाय समेत गरेको देख्दा आफूलाई खुशी लागेको बुढीनन्दा नगरपालिकाकी उप–मेयर तारा खातीले बताउनुभयो । ‘यहाँका एकल महिला, कुष्ठ रोगी र अपाङ्गहरुले सहकारीमा देखाएको सक्रियताले हामीलाई आउँदा दिनमा कार्यक्रम बनाउन समेत सचेत बनाएको छ’, उपमेयर खातीले भन्नुभयो ।

‘द ल्याप्रोसी मिसन नेपाल’ले चार वटै सहकारीलाई प्रतिसहकारी चौधलाख सहायता गरेको छ । अवसर र सहयोग पाएमा अशक्त र असहायले समेत केही गर्न सक्छन् भन्ने कुराको एक असल उदाहरणको रुपमा बाजुराका यी चार नयाँ सहकारी रहेका छन् । सहरकारीमा काम गर्नेहरुको पनि दैनिकी फेरिएको छ ।
 
 

अन्तिम अपडेट: चैत १, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया