काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव : वैदेशिक रोजगारीदेखि हिमालका कथासम्म

 मंसिर २१, २०७५ शुक्रबार २०:४७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शुक्रबारदेखि १६ औँ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सुरु भएको छ । 

महोत्सवको उद्घाटन समारोहमा आयोजक संस्था हिमाल एसोसियशनका अध्यक्ष बसन्त थापाले यस पटकको महोत्सव नारी केन्द्रित भएको बताउनुभयो । उहाँले यस पटकको महोत्सवको थिम नै नारीकेन्द्रित भएको जानकारी दिनुभयो । यस पटककाे संस्करणकाे ट्यागलाइन नै (वुमेन मुभ माउन्टेन्स) रहेकाे छ ।

१६ औँ संस्करणसम्म आइपुग्दा विभिन्न अप्ठ्याराहरु भोगेको बताउँदै राष्ट्रिय सभा गृहमा पुनः फर्कन पाउँदा आफूहरुलाई निकै खुशी लागेको अध्यक्ष थापाले बताउनुभयो । पछिल्ला चार वटा संस्करणका किम्फ एउटा सिनेमा घरमा आयोजना भएको थियो । यसपटक काठमाडौं महानगरपालिकाले महोत्सवको सह–आयोजक भएर आफूहरुलाई निकै सहयोग पुगेको थापाले बताउनुभयो । 

त्यस्तै महोत्सवकी निर्देशक रम्यता लिम्बूले यसपटकको किम्फमा समाजमा महिलाको भूमिकाको खोजी भएको बताउनुभयो । उहाँले यसपटकको महोत्सवमा नेपाल पानारोमा विधामा थुप्रै नेपाली निर्देशकका राम्रा वृत्तचित्र भएको बताउनुभयो । 

त्यस्तै  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले किम्फको सह–आयोजक हुन पाएकोमा आफू मात्रै होइन, पूरा काठमाडौं महानगरवासीहरु नै हर्षित भएको बताउनुभयो । एउटै थलोमा बसेर विश्वका विभिन्न देशका वृत्तचित्रहरु हेर्न पाउने यस्तो महोत्सवलाई काठमाडौं महानगरपालिकाले आउँदा वर्षमा पनि सघाउँदै जाने मेयर शाक्यले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

वैदेशिक रोजगारीदेखि हिमालका कथासम्म

शुक्रबारदेखि सुरु भएको फिल्म फेस्टिभल आउँदो मंगलबारसम्म चल्नेछ । महोत्सवको पहिलो दिन विभिन्न देशका वृत्तचित्रहरु प्रदर्शन भएका छन् । आज हिमालका कथादेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका कथा समेटिएका वृत्तचित्र प्रदर्शन भए । 

शुक्रबार ओपनिङ स्क्रीनिङका रुपमा रहेको वृत्तचित्र ‘माउन्टेन’ दर्शकको आकर्षणको केन्द्र बन्यो । अष्ट्रेलियाली फिल्ममेकर जेनिफर पीदमले निर्देशन गरेको यो चलचित्रमा अष्ट्रेलियन च्याम्बर अर्केष्ट्राको संगीत र उत्कृष्ट छायांकनको सम्मिश्रण रहेको छ । 

‘माउण्टेन’ मा हिमालप्रति मानिसले कसरी व्यवहार गरिरहेका छन् भन्ने कुरा सुन्दर ढंगले प्रस्तुत गरिएको छ । मानिसहरुले हिमाललाई ‘थिएटर’ का रुपमा प्रयोगशाला बनाइरहेको कुरा वृत्तचित्रले स्पष्ट रुपमा देखाएको छ । तीन शताब्दी अघिसम्म पर्वतारोहण गर्ने कुरालाई पागलपनको संज्ञा दिइन्थ्यो ।  तर वृत्तचित्रले अहिले मानिसहरु पर्वतारोहण नभएर कुनै तीर्थयात्रा जान लाइन लागिरहेको जस्तो अवस्था सिर्जना भएको वास्तविकता उजागर गरेको छ ।  कुनै बेला पवित्र मानिने हिमालहरुमा अहिले भिड नियन्त्रण गर्नुपर्ने अवस्था पनि सिर्जना भएको छ ।

त्यतिमात्रै होइन, मानिसहरुले हिमालको प्राकृतिक स्वरुप नै बिगारेर यसलाई पयर्टन तथा खेलक्षेत्रका रुपमा समेत विकास गरेका छन् । यसरी वृत्तचित्र ‘माउण्टेन’ ले अहिलेको अवस्थामा हिमालले ‘मानिसको माया र मृत्यु’ दुवै खोजेको कुरा देखाएको छ । 

त्यस्तै शुक्रबार नै प्रदर्शित वृत्तचित्र ‘द रियालिस्ट’ ले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका चार जना युवाको कथा समेटेको छ । ‘इन सर्च अफ् रियाल’, ‘डिजर्ट इट्स अस’, ‘हु विल बी अ गुर्खा’, ‘ट्रेम्बलिङ माउण्टेन’ जस्ता चर्चित वृत्तचित्र बनाइसकेका नेपाली निर्देशक केसाङ छेतेनले निर्देशन गरेको वृत्तचित्र ‘द रियालिस्ट’ मा रियाल कमाउन मुग्लान पस्नेहरुको जीवनका विभिन्न पक्षलाई समेटेको छ । 

‘द रियालिस्ट’ ले वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको मुख्य हिस्सा भएको मात्रै देखाएको छैन,हरेक दिन झण्डै १४सय नेपाली युवालाई विदेसिन बाध्य पार्ने सामाजिक तत्वहरुको उजागर पनि गरेको छ । 

त्यस्तै अमेरिकी निर्देशक जोय सुलरले निर्देशन गरेको वृत्तचित्र ‘आरजे रिपर’ ले राजेश (आरजे) मगर एउटा सामान्य माउण्टेन बाइकरबाट कसरी एसियाकै फास्टेस्ट माउण्टेन बाइकरका रुपमा अघि बढिरहेका छन् भन्ने कुरा देखाएको छ । सामान्य परिवारमा जन्मिएका राजेशले माउण्टेन बाइकर बन्ने आफ्नो सपना पूरा गर्न गरेका विभिन्न यात्रा यो वृत्तचित्रमा समेटिएको छ । 

त्यसैगरी शुक्रबार नै प्रदर्शन भएको वृत्तचित्र ‘डोल्पा डायरी’ मा प्रसुना डंगोलको एक्लो डोल्पा यात्रा देखाइएको छ । त्यस्तै शुक्रबार नै मानवीय जीवन तथा पारिस्थितक प्रणालीमा साना मांसाहारी जनावरले पार्ने भूमिकाका बारेमा गरिएको अध्ययन समेटिएको वृत्तचित्र ‘स्मल कार्निभोरस इन इस्टर्न नेपाल’ प्रदर्शन भएको थियो ।

त्यस्तै शुक्रबार नै ‘एन अनसर्टेन विण्टर’, ‘एडिक्टेड टु अल्टिच्यूड’, ‘ब्रेक अन थ्रू’, ‘नोट्स फ्रम द वाल’ लगायतका विदेशी वृत्तचित्रहरु पनि प्रदर्शित भएका थिए । 
मंगलबारसम्म चल्ने महोत्सवमा ३१ देशका ७२ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ ।

एशोसिएनका अनुसार महोत्सवका लागि ६१ देशका ४ सय भन्दा धेरै चलचित्र र वृत्तचित्रले आवेदन दिएकोमा ३१ देशका ७२ वटालाई छनोट गरिएको हो । काठमाडौंको राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा हुने प्रदर्शनीमा विभिन्न विधामा चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनुका साथै विभिन्न विधामा प्रतिस्पर्धासमेत हुनेछ ।

आउँदो बुधबारसम्म चल्ने चलचित्र महोत्सवका लागि यसपटक नारी र उनीहरुका सफलताको विषयलाई प्राथमिकता दिइएको छ । नेपाल पानारोमा विधामा २१ वटा नेपाली चलचित्र र वृत्तचित्र मात्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ विभिन्न देशका १४ ओटा चलचित्र रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रियतर्फ बिना प्रतिस्पर्धाका ३६ वटा चलचित्र तथा वृत्तचित्र रहेका छन् । 

साथै महोत्सवमा वृत्तचित्र निर्माणका बारेमा ‘मास्टर क्लास’ समेत आयोजना गरिने भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया