यसरी मनायो रेडियो अडियोले आफ्नो १२ औं वार्षिक उत्सव

 मंसिर २२, २०७५ शनिबार १२:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपालको एक मात्र हास्यव्यङग्य रेडियो रेडियो अडियोले १२ औं वार्षिक उत्सव धुमधामसँग मनाएको छ । 

हास्यव्यङग्यका सामग्री प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान बनाएको यो रेडियो यही मंसिर २१ गतेबाट १२ वर्षमा प्रवेश गरेको छ ।

विक्रम सम्वत् २०६४ भदौ १२ गते गाईजात्राको अवसर पारेर आफ्नो परीक्षण प्रसारण सुरु गरेको थियो । तर रेडियो अडियोकाे औपचारिक प्रसारण भने त्यसै वर्षकाे मंसिर २१ गतेदेखि सुरु भएकाे थियो ।

हास्यव्यङग्य विधामा केन्द्रित रहेर कार्यक्रम प्रस्तुत गर्दै आइरहेको रेडियो अडियोले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा शुक्रबार रेडियो अडियोकै कार्यालयमा कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, सदावहार नायक भुवन केसी, हास्य कलाकार मनोज गजुरेल, दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौडेल, सिताराम कट्टेल, कुन्जना घिमिरे, जितु नेपाल, पछिल्लो समयका व्यस्त नायिकाहरु वर्षा राउत, स्वस्तिमा खड्का, निता ढुंगानालगायत विभिन्न चलचित्रकर्मी तथा हास्यव्यंग्यकर्मी साथै व्यापारिक तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले रेडियो अडियोले नेपालमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको बताउनु भयाे । 

अन्य उपस्थित विशिष्ट व्याक्तित्वहरुले रेडियो अडियोलाई शुभकामना व्यक्त गरेका थिए भने हास्यकलाकार सिताराम कट्टेल धुर्मुसले रेडियो अडियो कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाको क्यारिकेचर गरेर सबैलाई हँसाएका थिए ।

रेडियो अडियोले नै हास्यव्यङग्यकर्मीको जन्मदिन मनाउने परम्पराको सुरुवात पनि गरेको थियो । सुरुवातदेखि नै अहिलेसम्म हास्यकर्मीहरुको जन्मदिनमा रेडियो अडियोले केक काटेर सेलिब्रेशन गर्ने गरेको छ ।

रेडियो अडियोको वार्षिक उत्सव विशेष कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई सम्मान गरिएको थियो । 

उनलााई रेडियोसँग सुरुवातदेखि नै आवद्ध भएको, हास्यव्यङग्यमा पुर्याएको योगदान र लगातार तीनवटा ब्लकबस्टर सिनेमाहरु प्रस्तुत गरेका कारण सम्मान गरिएको कार्यकारी अध्यक्ष दीपेन्द्र खनियाले जानकारी दिनुभयो । 

यस्तै कार्यक्रममा हास्यकलाकार जितु नेपाललाई विशेष सम्मान र हास्यव्यंग्यकार राजा राजेन्द्र पोखरेललाई प्रतिभा पुरस्कारले सम्मान गरिएको थियो ।

यसका साथै रेडियो अडियोसँग सुरुवातदेखि नै आवद्ध अमितचन्द्र अधिकारीलाई पनि सम्मानित गरिएको थियो ।  अधिकारी हाल रेडियो अडियोका निर्देशक हुनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया