गर्भवतीलाई प्रत्येक गर्भजाँचमा ‘एक किलो आयोडिन नून’

 मंसिर २२, २०७५ शनिबार १८:५:१४ | पुरुषोत्तम गिरी

सल्यान – सल्यानको त्रिवेणी गाउँपालिकाले गर्भवती महिलालाई प्रत्येक गर्भजाँचमा ‘एक किलो आयोडिन नून’ वितरण गर्न थालेको छ ।

गर्भ जाँच गराउँदा एक किलो नून वितरण गर्न थालेपछि गर्भ जाँच गराउने महिलाको संख्या ह्वात्तै बढेको गाउँपालिकाले जनाएको छ ।

‘स्वास्थ्य संस्थामार्फत प्रत्येक पटकको गर्भ जाँचमा एक किलो आयोडिन नून वितरण गर्न थालेको छौँ’, स्वास्थ्य शाखाका इन्चार्ज प्रभातकुमार श्रेष्ठले भन्नुभयो, ‘नून वितरण गर्न थालेपछि अहिले चार पटक गर्भ जाँच गर्ने महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको छ ।’

‘एक वर्ष अघि ४३ प्रतिशत गर्भवती महिलाले मात्रै स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको रेकर्ड थियो’, उहाँले भन्नुभयो, ‘नून वितरण गर्न थालेपछि यो दर बढेर ८२ प्रतिशत पुगेको छ ।’

गत आर्थिक वर्षको अवधिमा नून वितरणपछि २ सय २० जना महिलाले स्वास्थ्य संस्थामै आएर चार पटकसम्म गर्भ जाँच गराएका छन् । स्वास्थ्य शाखाका इन्चार्ज श्रेष्ठका अनुसार  उनीहरुलाइ त्रिवेणी गाउँपालिकाले अहिलेसम्म एक हजार ४० किलो आयोडिन नून वितरण गरेको छ ।

गर्भवती महिलाहरु पहिलेका वर्षमा गर्भवती स्वास्थ्य चौकीमा नपुग्ने, पुगे पनि चारपटक जाँच कमैले गर्नेे गरेको श्रेष्ठको अनुभव छ । गर्भ जाँच गराउँदा एक किलो आयोडिन नून निःशुल्क वितरण गर्ने कार्यक्रम प्रभावकारी भएकोले निरन्तर अगाडि बढाइने त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले  बताउनुभयो ।

गाउँपालिकाले सुत्केरीलाई प्रोत्साहन स्वरुप ५ सय र न्यानो झोला वितरण कार्य पनि गरिरहेको उहाँले जानकारी दिनु भएको छ । ‘कार्यक्रमले गर्दा आयोडिन नूनको प्रयोग गर्नेहरु पनि बढेका छन्’, गाउँपालिका उपाध्यक्ष करुणा खड्काले भन्नुभयो, ‘कार्यक्रमले दिदी बहिनीहरु निकै खुशी हुनुहुन्छ । स्वास्थ्य संस्थामा गएर नियमित जाँच गराउने र प्रसुति गृहमा नै गएर सुत्केरी हुनेको संख्या बढेको देख्दा हामी निकै खुशी भएका छौँ ।’

गाउँपालिकाले कार्यक्रम शुरु गरेपछि अहिले आयोडिन नूनको महत्व बुझेको जनाउँदै त्रिवेणी गाउँपालिका वडा नम्बर ६ कि गीता केसीले कुनै पनि महिलाको ज्यान जोखिममा नपरोस् भनेर गाउँपालिकाले एम्बुलेन्स सेवा पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले अबको एक महिना पछि एम्बुलेनस सेवा पनि शुरु हुने जानकारी दिनु भएको छ  ।

 

अन्तिम अपडेट: चैत २२, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया