निकुञ्ज भित्रबाट काठ चोरी गरेको आरोपमा सुत्केरी महिलासहित १४ जना पक्राउ

 मंसिर २२, २०७५ शनिबार २०:०:४८ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्टिय निकुञ्ज भित्रबाट काठ चिरान गरी घरभित्र राखेको आरोपमा झण्डै ४ ट्याक्टर चिरान काठसहित बर्दियाको ठाकुरबाबा नगरपालिका ६ लठुवा र बनखेत गाउँका १४ जना स्थानीयलाई निकुञ्ज प्रशासनले पक्राउ गरेको छ ।

निकुञ्ज भित्रबाट काठ तस्करी गरेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्ज छेउका घरहरुमा बिहीबार र शुक्रबार राति निकुञ्ज प्रशासनको टोलीले खानतलासी गरेपछि काठसहित १४ जनालाई पक्राउ गरेको बर्दिया निकुञ्जले जनाएको हो ।

निकुञ्ज प्रशासनको टोलीले ठाकुरबाबा नगरपालिका–६, मा पर्ने निकुञ्ज छेउको लठुवा बनखेत गाउँमा खानतलासी गर्ने क्रममा तस्कर गरी ल्याइएको काठ घरभित्र लुकाई राखेको अवस्थामा बरामद गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।

निकुञ्ज भित्रबाट काठ चोरी गरी चिरान गरी घरमा राखेको गोप्य सूचनाका आधारमा खानतलासी गरिएको र उनीहरुलाई पक्राउ गरी निकुञ्ज मुख्यालय ठाकुरद्धारा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत भण्डारीले बताउनुभयो ।

चोरी गरिएको चिरान काठ र काठ चिरानमा प्रयोग भएको आरा समेत बरामद गरिएको उहाँले बताउनुभयो । बर्दिया निकुञ्जका कर्मचारीहरुले स्थानीयवासीको घरमा पसेर खानतलासी गरेको र निर्दोश व्यक्तीलाई पक्राउ गरिएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भवानी भुसालले बताउनुभयो ।

निकुञ्ज कर्मचारीले महिला, बुढा र सुत्केरी महिलालाई पनि नियन्त्रणमा लिएको भन्दै वडाध्यक्ष भुषालले आपत्ति जनाउनुभयो । यता निकुञ्ज प्रशासनले भने पुरुषहरु भागेका कारण काठ बरामद भएको घरबाट महिलालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुलाई खान र बस्नको उचित व्यवस्थासहित अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । पक्राउ परेका महिलाका पुरुष सदस्य सम्पर्कमा आएमा महिलालाई तत्काल रिहा गर्ने समेत जनाएको छ ।

पक्राउ परेका महिलाहरुसँंग जनप्रतिनिधिसहितको टोलीले शनिबार भेटेको छ । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्ण कुष्मा थारु, वडा नम्बर ९ का वडाध्यक्ष राधा चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष भवानी भुषाल, महिला बालबालिका शाखा प्रमुख गोगनसरा आचार्यसहितको टोलील सुत्केरी महिलालाई तत्काल रिहाई गर्न माग गर्दै निकुञ्ज मुख्यालय ठाकुरद्धारा पुग्नुभएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया