‘रिटायर्ड’पछि पनि ‘टायर्ड’ नभएका कुलबहादुर : बाख्रा पालेर मालामाल

 मंसिर २३, २०७५ आइतबार ९:२०:५९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जिन्दगीका ऊर्जाशील समय देशकै सेवामा बिताउनुभयो, सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीका कुलबहादुर पराजुलीले । १७ वर्ष नेपाली सेनामा रहेर देशको सेवामा खटिन पाएकोमा उहाँलाई गर्व लाग्छ ।

२०५७ सालमा जागिरबाट ‘रिटायर्ड’ हुनुभयो, उहाँ । जागिरबाट ‘रिटायर्ड’ भए पनि उहाँ ‘टायर्ड’ भने हुनुभएन । खाली समय त्यसै खेर फाल्नु हुँदैन भन्ने उहाँलाई लाग्यो । उहाँको कृषि कर्म गर्ने पहिलेदेखिकै रहर पनि थियो । त्यसैले केही ज्ञान, सीप आर्जन गरेर मात्रै नयाँ ढर्राबाट कृषि कर्म गर्नुपर्छ भन्ने योजनाका साथ उहाँले २ वर्ष खाद्यान्न तथा पशुपालनसम्वन्धी तालिम लिनुभयो ।

तालिम लिएपछि उहाँले व्यावसायिक बाख्रापालन गर्ने योजना बनाउनुभयो । २०६१ सालमा काठको ५ वटा घुम्ती (बाख्राको खोर) बनाउनुभयो । सुरुमा ३ वटा माउ बाख्रा पाल्नुभयो । ३ वटा बाख्राबाट सुरु भएको उहाँको बाख्रा फार्ममा अहिले साना ठूला गरी ८५ वटा बाख्रा रहेका छन् । ९ वटा बोका बिक्रीका लागि तयार भईसकेका छन् ।

१५ लाखभन्दा धेरै लगानी

खोर निर्माण, बाख्रा खरिदका लागि सुरुमा झण्डै डेढ लाख रुपैयाँ खर्च भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अहिले फार्ममा  १५ लाख रुपैयाँभन्दा धेरै लगानी भएको छ । ‘पेन्सन जम्मा गरी धेरथोर ऋणधन गरी गाउँमै बसी बाख्रा पालेको हुँ,’ उहाँले भन्नुभयो ।

उहाँले एउटा ठूलो बाख्राको खोर बनाउनुभएको छ । खोर एक रोपनी जग्गामा फैलिएको छ । घरभन्दा केही माथि रहेको खाली जग्गा भाडामा लिई बनाइएको फार्ममा अहिले खरी, अष्ट्रेलियन बिड, जमुनापारी लगायतका उन्नत जातका बाख्रा रहेका छन् ।

अग्लो शरीर । ढल्किँदै गरेको उमेर । तर जोश, जाँगर मरेको छैन । उत्साह, उमंगका साथ हरदम आफ्नै कृषि कर्ममा तल्लिन हुनुहुन्छ, कुलबहादुर । साँझबिहान, दिनरात उहाँ बाख्राकै स्याहारसुसारमै व्यस्त हुनुहुन्छ । सबेरै उठ्नु । बाख्रालाई घाँस, कुँडो गर्नु । दिउँसो नजिकैको जंगल, टारीमा बाख्रा चराउन लैजानु उहाँको दैनिकी हो ।

वर्षमा तीन लाख आम्दानी

‘१७ वर्ष सेनामा रही नेपाल आमाको सेवा गरेँ । अहिले देशमै बसी कृषि कर्म गरेको छु । देशमै बसेर कृषि गर्नु पनि नेपाल आमाकै सेवा गर्नु रहेछ भन्ने लाग्छ । यसमा निकै खुशी छु,’ घर अगाडिको बाँझो खेतमा बाख्रा चराउँदै गर्दा भेटिएका कुलबहादुरले गर्वका साथ भन्नुभयो ।

बाख्रापालनका लागि उहाँले बाख्रा फर्म परिसरमै नेपिएर, स्टाईलो जातको घाँस रोप्नुभएको छ । ‘दिउँसो बाख्रा चराईन्छ । घाँस खुवाईन्छ । बाख्रालाई चोकर, मकैको पिठो पनि खुवाईन्छ,’ उहाँले बाख्राको आहाराबारे जानकारी गराउनुभयो ।

बाख्रा, खसीबोका बिक्रीका लागि उहाँलाई कुनै समस्या छैन । बाख्रा, खसीबोका किन्न घर, खोरमै आउँछन् ‘क्रेता’ । उहाँको फर्मबाट उत्पादित खसीबोका नजिकैको खत्रीठाँटी बजारमै बिक्री हुन्छ । प्रतिकिलो साँढे ४ सय रुपैयाँका दरले बोका बेच्नुहुन्छ ।

‘खर्च कटाएर वर्षमा झण्डै तीन लाख रुपैयाँ आम्दानी हुन्छ । पशु मरिदयो भने घाटा हुन जान्छ । यसो नभएको बखतमा वर्षमै साँढे दुई देखी तीन लाखसम्म कमाई हुन्छ,’ उहाँले भन्नुभयो ।

बाख्रा पालेरै मनग्य कमाउन सकिन्छ

बाख्रालाई चिसोबाट जोगाउनुपर्ने उहाँको भनाई छ । ‘निमोनियाका कारण खोरमै बाख्रा सखाप हुन सक्छन् । त्यसैले बाख्रा पालनका लागि उचित खोरको व्यवस्थापन गर्नु आवश्यक हुन्छ । खोर सफा, सुग्घर भएमा बाख्रालाई खासै रोगले सताउँदैन,’ उहाँले भन्नुभयो ।

कुलबहादुरको एकल प्रयासले मात्र बाख्रापालन व्यवसाय फस्टाएको छैन । बाख्रापालन व्यवसायमा श्रीमती लेखा र छोरी सीताको पनि हरदम साथ सहयोग मिलेको छ, ५८ वर्षे कुलबहादुरलाई ।

‘दिउँसो बाख्रा चराउने, घाँस, कुँडो गर्ने काममा श्रीमती र छोरीले सघाउँछिन्,’ उहाँले भन्नुभयो । 
‘गर्न सके बाख्रापालनबाटै मनग्य कमाउन सकिन्छ । परिवारसँगै साथमा रहेर बाख्रा पालन गर्न पाउँदा म खुशी छु,’ बाख्रा चराउनमा व्यस्त रहनुभएकी कुलबहादुरकी श्रीमती लेखा पराजुलीले भन्नुभयो ।

राज्यको लगानी आवश्यक

कुलबहादुरको पुरानो बाख्राको खोर जीर्ण बन्दै गएको छ । बाख्रा खोर व्यवस्थापनमा सम्वन्धित निकायको साथ सहयोग पाए हुन्थ्यो भन्ने उहाँलाई लागेको छ । ‘सकेको खर्च म आफैँ गर्ने थिएँ । खोर पुरानै हुँदै गएको छ । खोर व्यवस्थापनमा सम्बन्धित निकायको सहयोग पाए हुन्थ्यो भन्ने लागेको छ,’ उहाँले आशाको भाव प्रकट गर्नुभयो ।

उचित व्यवस्थापनका साथमा बाख्रापालन व्यवसायलाई थप विस्तार गर्ने उहाँको सोच छ । उहाँका अनुसार वास्तविक किसानले राज्यको सहयोग पाउन सकेका छैनन् । प्रभावकारी ढंगले कृषिमा राज्यले लगानी गरेमा युवावर्गलाई कृषिमा तान्न सकिन्छ । कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

‘हाम्रो देशमा उर्वरभूमी छ । यस उर्वरभूमीलाई हराभरा बनाउन राज्यले कृषिमा प्रभावकारी ढंगले लगानी गर्नु आवश्यक छ । कृषिमा राम्रो लगानी हुन सकेमा, कृषकलाई हौसला प्रदान गर्न सकेमा कृषिमा नयाँ पिँडी पनि तानिन्छन्,’ उहाँले भन्नुभयो ।           
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया