निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजीनामा

 मंसिर २३, २०७५ आइतबार १६:१७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ ।  

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाको राजीनामा माग गरिएको हो । 

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाउनुभयो । 

सांसद खतिवडाले भन्नुभयो,‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भर्त्सना गर्दछ ।’ 

निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको पनि उहाँको दावी छ । 

खतिवडाले अगाडि भन्नुभयो,‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होइन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, उहाले थप्नुभयो, ‘यस्तो नाटक गरेर जनता र गरिबहरुमाथि दुई तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखी नेपाली बन्छन् ? म सोध्न चाहन्छु, यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ? ’
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया