तेह्रथुममा सुन्तला उत्पादन घट्यो

 मंसिर २३, २०७५ आइतबार १७:७:४८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ ।

सुन्तलाको फूल खेल्ने समयमा पानी नपरेका कारणले पहिलाभन्दा यो वर्ष कम सुन्तला फलेको हो । फलेको सुन्तला पोहोर जस्तो राम्रो छैन । दाना पनि सानो लागेको छ । सुख्खा र खडेरीले गर्दा यो वर्ष सुन्तला नफलेको म्याङलुङ नगरपालिका–४, का किसान शिव निरौलाले बताउनुभयो । केहीको बगानमा स्याहार नपुगेकाले पनि सुन्तलाको बोटमा रोग आएको किसानले बताउने गरेका छन् ।

यो वर्ष पहिलाभन्दा कम सुन्तला फलेको म्याङलुङ नगरपालिका–४, का अर्का किसान खेमप्रसाद भटराईले बताउनुभयो । उहाँले गएको वर्ष सुन्तलाबाट डेढ लाख रुपैयाँ आम्दानी गर्नुभएको थियो ।

तर यो वर्ष सुन्तलाको फूल फुल्ने र फल लाग्ने समयमा मौसम परिवर्तनको कारणले गर्दा सुन्तला, कागतीलगायत अन्य फलफूलमा समेत असर पारेको उहाँले बताउनुभयो । अघिल्लो समयको तुलनामा सुन्तला पातलो फलेको र फल पनि सानो लागेको म्याङलुङ नगरपालिका–४, कि निर्मला दाहालले गुनासो गर्नुभयो । सुन्तलाको फल लाग्ने समयममा खडेरी र असिना पानीले गर्दा सुन्तला नफलेको छथर गाउँपालिका फाक्चामाराका अर्का  किसान त्रिलोचन लुईटेलले बताउनुभयो ।

उत्पादन कम भएको समयमा बजारमा सुन्तलाको मूल्य भने बढी रहेको छ । अहिले म्याङलुङ बजारमा सुन्तला प्रति केजी ८० देखि ९० रुपैयाँको दरमा बिक्रि भइरहेको छ । तेह्रथुमको ६ वटै स्थानीय तहमा सुन्तलाको खेती गर्ने गरिए पनि विशेष गरी जिल्लाको फेदाप गाउँपालिकाको जलजले, म्याङलुङ नगरपालिका, आठराइ गाउँपालिकाको छातेढुंगा, ईवा, छथर गाउँपालिकाको फाक्चामारामा गुणस्तरीय सुन्तला उत्पादन हुने गरेको  छ ।  

तेह्रथुममा एक हजार १३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको कृषि कार्यलयको तथ्यांक छ । यहाँ उत्पादन भएको सुन्तला पूर्वको धरान, इटहरी, विराटनगर, झापातर्फ पनि निर्यात हुने गर्दछ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया