३० वर्षअघिकाे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

 मंसिर २३, २०७५ आइतबार १८:४६:० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ३० वर्ष अगाडि जबरजस्ती करणी मुद्दा दर्ता भएर अदालतबाट २ वर्ष कैद सजाय सुनाइएका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको तत्कालीन फाकुम्बा गाउँ विकास समिति वडा नं–९, हालको मैवाखोला गाउँपालिका वडा नं–४, बस्ने ४८ वर्षका कृष्ण भनेर चिनिने पुर्णबहादुर लिम्बू छन् ।

आज भन्दा ३० वर्ष अगाडि अर्थात् २०४५ सालमा आफ्नै गाउँ घरकी चेलीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत ताप्लेजुङमा मुद्दा दर्ता भएपछि ३ हजार ६२ रुपैयाँ जरिवानासहित २ वर्ष कैद सजाय सुनाइएको थियो ।

लिम्बूलाई अहिले ३० वर्ष पछि मैवाखोला गाउँपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख संजयसिंह थापाले बताउनुभयो ।

यसरी पक्राउ परेका अभियुक्तलाई आइतबार नै कारागार चलान गरिएको प्रमुख थापाले बताउनुभयो । अहिले सम्ममा पुराना मुद्दाका दर्जनौं अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

केही महिना यता प्रहरी सक्रिय देखिएको र जिल्लामा पुराना मुद्दामा दोषी देखिएका अभियुक्तहरु धमाधम पक्राउ गरिएको प्रहरीले जनाएको छ ।                      

                                                                                                                                                                                                                                                                                         

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया