अख्तियारमा स्थानीय तहका धेरै उजुरी

 मंसिर २३, २०७५ आइतबार १९:४९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सम्पर्क कार्यालय नेपालगञ्जमा दैनिकजसो अनियमितताका उजुरी दर्ता हुने गरेका छन् ।

दर्ता हुने अधिकांश उजुरी स्थानीय तहका हुने गरेका छन् । मन्त्रालयगत आधारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका धेरै उजुरी दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल शाखा कार्यालय नेपालगञ्जले जनाएको छ ।

कार्यालयले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आइतबार नेपालगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अख्तियारका शाखा अधिकृत नारायणदत्त उपाध्यायले गएको आर्थिक वर्षमा कार्यालयको क्षेत्राधिकारमा रहेका जिल्लाबाट प्राप्त उजुरीमध्ये  स्थानीय तहका सबैभन्दा बढी १ सय ४३ उजुरी दर्ता भएको जानकारी दिनुभयो ।

यसैगरी स्थानीय तहपछि सबैभन्दा बढी शिक्षाका १ सय ३५ उजुरी दर्ता भएका छन् । सबैभन्दा कम महिला तथा बालबालिका र श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका कार्यालयका उजुरी छन् ।

कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि नीतिसँगै नियत पनि परिवर्तन गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, अख्तियारको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेलगायतले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयासमा जोड दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया