निगालोले धानेको बस्ती

 मंसिर २४, २०७५ सोमबार १०:२६:४६ | अर्जुन श्रेष्ठ
unn.prixa.net

धादिङ – साना, साना घर । जस्ताको छानो । जस्ताकै बार । सानो आँगन छ । आँगनभरी निगालो थुपारिएका छन् । घरका सबै सदस्य निगालो काट्न र मिलाउनमा व्यस्त छन् । कोही डोको, थुन्चे बुन्नमा व्यस्त छन् । यो बस्तीमा डोको, थुन्चे बुन्न नजान्ने पनि कोही छैनन् । १० वर्षका बालबालिकादेखि ८० वर्षका वृद्धवृद्धा सबैले डोको, डालो, थुन्चे बुन्न जानेका छन् ।

७२ सालको भूकम्पले घर भत्कियो । बस्ती चिराचिरा भयो । बस्नै नमिल्ने भएपछि उत्तरी धादिङबाट उनीहरु पुगे सदरमुकाम आसपास । निलकण्ठ नगरपालिकाको वडा नम्बर १२ को दामगाडे भन्ने ठाउँमा अहिले उनीहरुको बस्ती छ ।

एउटा हात र एउटा खुट्टा राम्रोसँग चल्दैन । डाक्टरले पक्षघात (प्यारालाइसिस) भएको भनेको ६ वर्ष भैसक्यो । तर निगालोबाट डोका डाला, थुन्चेजस्ता सामाग्री बुनेरै जिविकोपार्जन गर्दै हुनुहुन्छ गंगाजमुना गाउँपालिका–१, धादिङका मनबहादुर तामाङ ।

तामाङ भन्नुहुन्छ – ‘अरु काम गर्ने सीप छैन, स्वास्थ्यले पनि साथ दिएन । कति औषधि खाएँ, अब त शरीरमा औषधि मात्रै छ होला जस्तो लाग्छ । मासिक २ हजारभन्दा बढी रकमको औषधि त अहिले पनि खान्छु,’ उहाँले भावुक हुँदै भन्नुभयो, ‘उमेरले डाँडो काट्यो, आफ्नो ज्यानको माया कसलाई हुदैन र । औषधिकै भरमा बाँचेको छु । खान, लाउन अनि औषधि उपचार थुन्चे बुनेरै पुर्‍याएको छु ।’ 

नीलकण्ठ नगरपालिका–१२ दामगाडे वरीपरी निगालो पाइँदैन । अन्य ठाउँ तथा उनीहरुकै पुरानो बस्ती भएको ठाउँ उत्तरी धादिङबाट ल्याउँदा ढुवानीको समस्या तथा खर्चिलो हुने गंगा जमुना गाउँपालिका–१ धादिङका मंगल तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘स्वदेशमै परदेशी बनेका छौँ । निगालोको चोया बनाएर डोकाडाला, थुन्चे बुनेर जीविका चलाउन हामी बाध्य छौँ । आफ्नै गाउँ फर्किएर पहिलेकै जस्तै रमाउने रहर नभएको कहाँ होर ?’

तामाङ भन्नुहुन्छ – ‘धन्न यति बुन्न जानेका छौँ । नभए बाँच्ने आधार नै रहने थिएन । मासिक झण्डै ५० वटा थुन्चे बुन्छौं । निगालो किन्दा, ढुवानीमा केही खर्च हुन्छ, बचेको रकमबाट घर खर्च चलाएका छौँ । उहाँले बताउनुभयो । 

त्यस्तै, रिगाउँका बियाल तामाङ निगालोको अभावका कारण भने जति आम्दानी गर्न नसकिएको बताउनुहुन्छ । निगालो लिन जान र आउन ३÷४ दिन लाग्छ । तामाङ भन्नुहुन्छ– ‘ढुवाडी महंगो, समय उस्तै बर्बाद, त्यही पनि भनेको ठाउँ र समयमा निगालो पाइँदैन ।’

बुनाईको गुणस्तर हेरेर एउटा थुन्चे ३ सयदेखि ३ सय ५० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो  । उहाँले भन्नुभयो, ‘निगालोमा भविष्य देखेर होइन । एक पेट खान, एक सरो लाउन अनि बालबच्चा पढाउन थुन्चे बुन्छौँ । हामीले बुनेका थुन्चेसँगै हाम्रा खुसी र बालबच्चाको भविष्य जोडिँदै गएको छ ।

भूकम्पपछि उत्तरी धादिङका झण्डै १२ सय ५० परिवार विस्थापित भएर जिल्ला सदरमुकाम आसपास बसेका थिए । कतिपय गाउँ फर्के, कतिपयलाई संघसस्थाको साथ मिल्यो । तर केही प्रभावित अझै टहरामा समस्या र अभावको भूमरीमा रुमल्लिइरहेका छन् । थोरै जग्गा लिएर ओतलाग्ने छानो हालेकालाई पनि बिहान बेलुकाको मानोको चिन्ताले छाडेको छैन ।

दामगाडे बस्तीमा मात्रै विस्थापित भएर आएका १ सय ४० भन्दा बढी परिवार छन् । निगालो खेती हुन सके थुन्चे बुनेर जीविकोपार्जन गर्नेहरुको जीवनस्तर माथि उठ्ने शिविरका अध्यक्ष बुद्धसिंह तामाङ बताउहुन्छ । उहाँ भन्नुहुन्छ – ‘स्थानीय तहले योजना बनाउँदा र बजेट विनियोजन गर्दा आम नागरिकको यस्ता आवश्यकताको सम्मान गर्न सके गाउँ गाउँमा सिंहदरवारको आभाष हुन्थ्यो होला ।’  
   
 

अन्तिम अपडेट: चैत १३, २०८०

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया