चिसो बढेसँगै मनाङको तातोपानी कुण्डमा नुहाउनेको भीड

 मंसिर २४, २०७५ सोमबार १३:४४:२६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - हिमाली जिल्ला मनाङ आफैमा चिसो छ । मंसिर वित्नै लाग्दा यहाँ जाडो पाराे पनि बढ्दै जान थालेको छ । हुन त याे माैसम नै चिसाे हाे । तर हिमाली जिल्ला मनाङमा चिसाेकाे पाराे यतिबेला अन्य ठाउकाे तुलनामा झनै माथि पुगिसकेकाे छ । ठण्डीका बेला चिसो पानीमा नुहाइ धुवाइ गर्नु कम्ता सकस हुँदैन ।  

मनाङकै चामे गाउँपालिकामै प्राकृति तातोपानी कुण्ड छ । यहाँ बाह्रै महिना बग्ने प्राकृतिक तातोपानी छ । त्यसैले स्थानीयसँगै यहाँसम्म आउने पर्यटकलाई चिसोको समयमा नुहाउन, धुवाउन सजिलो भएको छ । स्थानीयका लागि यो कुण्ड ‘वरदान’ नै सावित भएको स्थानीय राजन गुरुङले बताउनुभयो ।

तातोपानी कुण्डमा नुहाउँदा हाडजोर्नी तथा छालासम्बन्धी रोगहरु निको हुने जनविश्वास रहिआएकाे छ । चिसो समयमा मनाङको तातोपानी कुण्डमा नुहाइ धुवाइ गर्नेकाे भीड लाग्ने गरेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिनुभयो ।    

‘सदरमुकाम चामे नजिकै तातोपानी कुण्ड छ । यसले स्थानीयबासिन्दा, कर्मचारी, विद्यार्थी लगायत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चिसोकाे यो समयमा नुहाइ धुवाइ गर्न सहज बनाएको उहाँले बताउनुभयाे । 

विशेषगरी तातोपानी कुण्डमा शुक्रबार र शनिबार नुहाइ धुवाइ गर्नेकाे भीड लाग्ने गरेकाे स्थानीय होटल व्यवसायी छिरिङ धोर्जे लामाले बताउनुभयो । शुक्रबार, शनिबारका साथै बिदाको दिन तातोपानी कुण्डमा मानिसहरुको भीड लाग्छ । विशेषगरी हिमाली जिल्ला मनाङमा मंसिर, पुस र माघ महिना गरी ३ महिना ज्यादै चिसो हुन्छ । 

यो तीन महिना औधी चिसो हुने बताउँदै यस समयमा नुहाइ धुवाइ गर्नका लागि प्राय: जिल्लाका सबै क्षेत्रका मानिस यस कुण्डसम्म आउँने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।   

‘याे तातोपानी कुण्ड स्थानीयको लागि वरदान त साबित भएकै छ, यसका साथै यस कुण्ड पर्यटकको रोजाईमा समेत पर्ने गरेको छ,’ चामे गाउँपालिकाका उपाध्यक्ष मुनिन्द्रजंग गुरुङ भन्नुहुन्छ, ‘जिल्लासम्म आउने जो कोही पनि एकपटक तातोपानी कुण्डसम्म पुग्छन्, नुहाइ धुवाइ गर्छन् ।’ 

तातोपानी कुण्ड संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएको छ । चामे गाउँपालिकाले २३ लाख बजेट खर्च गरी कुण्डलाई व्यवस्थित बनाएको छ । 

तर वर्षाको समयमा मर्स्याङ्दी नदीले तातोपानी कुण्डमा क्षति पुर्याउने गरेको छ । कुण्डलाई थप व्यवस्थित र सुरक्षित बनाउन नदीले क्षति पुर्याएको कुण्डको भौतिक संरचनाको मर्मतमा गाउँपालिकाले काम गर्ने उपाध्यक्ष गुरुङले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया