छायांकन नसकिँदै ‘दालभात तरकारी’को विदेशबाट आयो ‘डिमाण्ड’

 मंसिर २४, २०७५ सोमबार १४:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - कलाकार किरण केसी र मह संचारले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र दाल भात तरकारीको यतिबेला छायांकन भइरहेको छ । चलचित्रको क्लाइमेक्सको छायांकन सम्पन्न भएको निर्माता किरण केसीले बताए ।

हालसम्ममा चलचित्रको करिब ३५ प्रतिशत छायांकन सम्पन्न भएको बताइएको छ । चलचित्रमा समावेश एउटा गीतको छायांकन पनि सकिएको निर्माता केसीले बताए । मिना निरौलाको स्वरमा रहेको गीतमा प्रियंका कार्कीले आइटम नृत्य देख्न सकिने छ ।

गीतको छायांकन चितवनको नारायणी रिसोर्टमा ३ रात लगाएर सम्पन्न गरिएको बताइएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यतिबेला काठमाण्डौंको बुढानिलकण्ठमा चलचित्रको छायांकन भइरहेको निर्माता केसीले बताए ।

निर्माता केसीका अनुसार छायांकनको आधा काम नसकिँदै  अष्ट्रेलिया, अमेरिका, लण्डन, जापान, कतार लगायतका देशहरुबाट चलचित्र प्रदर्शनीका लागि माग भएको छ । चलचित्र २०७६ को बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया