जातीय विभेदविरुद्धको अभियान : बाउले हलो जोते, छोराले सामूहिक भोज चलाए

 मंसिर २४, २०७५ सोमबार १७:७:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – राणाकालीन समय । ब्राह्मण जातिले हलो जोत्नु हुँदैन भन्ने व्याप्त मानसिकता । तर त्यही राणाकालीन समयमा नेपालकै इतिहासमा पहिलोचोटी ब्राह्मणहरुले हलो जोतेको ज्यूँदो इतिहास बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४ (साविक दुराडाँडा गाविस वडा नं–६) अर्चल्यानीको बाटेगराले ।    

वि.सं. २००६ साल साउन ११ गते नेपालकै इतिहासमा पहिलोपल्ट पण्डित तोयानाथ अधिकारीले बाटेगरामा एक हल गोरु नारी हलो जोत्नुभएको थियो ।       

शनिबार त्यही ऐतिहासिक स्थल बाटेगरामा सामूहिक भोजको आयोजना गरिएको छ । भोजमा दलित र गैरदलित समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।    
सामूहिक भोज हलोक्रान्तिको नेतृत्व गर्नुभएका स्वर्गीय पण्डित तोयानाथ अधिकारीका कान्छा छोरा शशिकान्त अधिकारीको अगुवाईमा भएको हो ।     

आफू अध्यक्ष रहेको मानव र वातावरण संस्थाको सहयोगमा अधिकारीले सामूहिक भोजको आयोजना गर्नुभएको हो । ‘दलितले छोएको खान हुँदैन’ भन्ने रुढीवादी परम्परा अझै समाजमा रहेकाले त्यो अन्धविश्वासलाई तोडी समाजबाट जातीय विभेद हटाउनका लागि सामूहिक भोजको आयोजना गरिएको अगुवा अधिकारीले बताउनुभयो ।    

ब्राम्हण, क्षेत्री र दलित समुदायको जन्मदेखि मत्युसम्मका अधिकांश संस्कारहरु उस्तै भए पनि विभेद भइरहँदा दलित समुदाय अन्यायमा परेको अधिकारीले गुनासो गर्नुभयो ।    

लमजुङको दुराडाँडालाई जातीय एकता र धार्मिक सहिष्णुतायुक्त गाउँ बनाउने अभियानका साथ यो पाइला चालिएको हलोक्रान्ति तथा तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले बताउनुभयो ।    

आफूहरु वर्षाँैदेखि अपहेलना र विभेदको मारमा पर्दै आएको र संवैधानिक तथा राजनीतिक परिवर्तन भइसक्दासमेत त्यसका असरहरु बाँकी रहँदा दलित समुदायले परिवर्तनको अनुभूति गर्न नसकेको स्थानीय अगुवा उत्तम बसेलले बताउनुभयो ।

‘सामूहिक भोजले पक्कै पनि समाजमा रहेको जातीय विभेदलाई चिर्नेछ । यसले समाजका सबै एकै हुन् भन्ने सन्देश समाजमा फैलाउन मद्धत गर्नेछ भन्नेमा विश्वस्त छौँ’, उहाँले भन्नुभयो ।

देशमा कयौँ परिवर्तन आए तापनि समाजमा अझै जातीय विभेद हट्न नसकेको स्थानीय सीता विकले बताउनुभयो । ‘दलितले पकाएको खानु त परको कुरा । समाजमा अझै माथिल्लोे जातका भनिएकाहरुले दलितलाई छोइ–छिटो गर्ने चलन छ’, उहाँले भन्नुभयो, ‘हामी पनि त मानव हौँ । मानवले मानवलाई विभेद गर्नु कदापि राम्रो होइन ।’    
 
भोजमा सहभागी हुनुभएका सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले जातीय भेदभाव न्यूनिकरणका लागि नगरपालिकाले प्रत्येक वडामा जातीय विभेद न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

सामूहिक भोजले समाजमा रहेको जातीय विभेद न्यूनिकरणमा टेवा पुर्‍याउने भोजमा सहभागी सरोकारवालाहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया