अरनिको राजमार्ग सर्भिस ट्रयाक निर्माण सुरु : सडक दायाँबायाँ बनाएका संरचना भत्काउन निर्देशन

 मंसिर २४, २०७५ सोमबार १७:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायकदेखि काभ्रेको साँगासम्मको सडकको दायाँबायाको सर्भिस ट्रयाक निर्माण कार्य सोमबारबाट सुरु भएको छ ।

सर्भिस ट्रयाक प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले शिलान्यास गर्दै उहाँले २०३४ सालपछि सडक मापदण्ड मिचेर अरनिको राजमार्ग दायाँबायाँ बनाएको घर, टहरा र अन्य संरचनाहरु भत्काउन निर्देशन दिनुभयो ।

उहाँले २०३४ सालभन्दा अघि निर्माण भएका घरको भने मुआब्जा आउने भएकाले ती घर भने नभत्काउन निर्देशन दिनुभयो । अरनिको राजमार्ग अन्तर्गत साँगादेखि सूर्यविनायकसम्म दैनिक हुने सडक जाम हटाउन सर्भिस ट्रयाक निर्माणले मद्दत पुग्ने बताउँदै उहाँले यसले राजमार्गको जाम र दैनिक हुने दुर्घटना न्यूनिकरण हुने विश्वास लिनुभयो ।

सांसद बस्नेतले आगामी फागुनदेखि जापान सरकारले अरनिको राजमार्गलाई ८२ फिटको फराकिलो बनाउने कार्य सुरु गर्ने भएकाले पनि सर्भिस ट्रयाक खोल्नु अति आवश्यक रहेको बताउनुभयो । सर्भिस ट्रयाक निर्माण कार्य आगामी १५ दिनभित्रमा सम्पन्न गर्न निर्देशन दिँदै सांसद बस्नेतले विकास निर्माणका कार्य अब तीव्र गतिमा अगाडि बढ्ने आश्वासन दिनुभयो ।

सूर्यविनायकदेखि धुलिखेलसम्म जापान सरकारले आगामी फागुनदेखि ६ लेनको सडक निर्माण गर्नेभएको छ । यसअघि सूर्यविनायक नगरपालिका वडा नं. ८ ले जगातेसम्म र काभ्रेको बनेपा नगरपालिकाले साँगासम्म सर्भिस ट्रयाक निर्माण गरिसकेको छ ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ९ र १० क्षेत्रमा पर्ने जगाती, भातेढिकुर, बाँसघारी, नलिन्चोक, पलासे हुँदै भक्तपुर र काभ्रेको सिमानामा रहेको साँगासम्म सर्भिस ट्रयाक निर्माण कार्य सुरु भएको हो । कार्यक्रममा प्रदेश नम्बर ३ का सदस्य रजनी जोन्छेले विकास निर्माणमा कसैले अबरोध गर्न नहुने र सबैले सहयेग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बाटो निर्माणमा कुनै अवरोध नआउने बताउँदै उहाँले सडक निर्माणमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया