प्रधानमन्त्रीको फोटोलाई उचालेर ‘सामाजिक सुरक्षा कार्यक्रम’को विरोध गर्नु आपत्तिजनक : परराष्ट्रमन्त्री ज्ञवाली

 मंसिर २४, २०७५ सोमबार १८:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले श्रमिकहरुको सम्मान नगर्नेहरुले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’को विरोध गरिरहेको बताउनु भएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले ३५ लाख श्रमिकहरुलाई पेन्सनसहितको व्यवस्था गर्न सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उल्लेख गर्दै त्यसको विरोध नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी ओलीको फोटोको विषयलाई उचालेर विरोधीहरुले सामाजिक सुरक्षा कार्यक्रमको विरोध गरेकोमा आपत्ति पनि जनाउनु भयो ।

सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गर्दा प्रधानमन्त्री ओलीको फोटोसहितको होडिङ बोर्ड सडक-सडकमा राखिएकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको थियो । सोही प्रसंगलाई लक्षित गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले श्रमिकहरुको हितमा सरकारले काम गर्दा चित्त दुखाउनुपर्ने कुनै विषय नभएको स्पष्ट पार्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकाल उपलब्धिमूलक रहेको दावी पनि गर्नु भयो । यसबीचमा सरकारले नेपालले कहिल्यै नाकाबन्दी व्यहोर्नु नपर्नेगरी चीनसँग पारवहन सम्झौता गरेको पनि परराष्ट्रमन्त्री ज्ञवालीले स्मरण गराउनु भयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया