इन्टरनेटले जोगायो महेश्वरीको ज्यान : पेटभित्रै शिशुको मृत्यु भएपछि हेलिकप्टरबाट उद्धार

 मंसिर २४, २०७५ सोमबार १९:४:३२ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – गाउँघरको काम काज र जनचेतनाको कमीले गह्रौँ भारी बोकेर जीवनयापन गर्नुपर्ने बाध्यतामा रहेकी जाजरकोट वारेकोट गाउँपालिकाकी एक महिलाको सुत्केरी हुने समय आउन लाग्दा पेटभित्रै बच्चा मरेपछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुत्केरी बेथापछि पेटमै बच्चाको मृत्यु भएपछि वारेकोट –२, ध्यारगाउँकी महेश्वरी थापालाई वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो । आइतबार दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा सुत्केरी बेथा लागेको थाहा पाएपछि परिवारले उहाँलाई स्वास्थ चौकीमा पुर्याएको थियो ।

स्थानीय स्वास्थ्यकर्मीहरुले चेक गरेपछि थापाको पेटमै बच्चा मरिसकेको र तत्काल सुविधासम्पन्न अस्पतालमा पुर्याउन नसके आमाको ज्यान जोखिममा भएको बताएपछि तत्काल उहाँको ज्यान बचाउन आपतकालीन रुपमा हेलिकप्टरबाट उद्धार गरिएको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

अध्यक्ष शाहले सुत्केरी बेथाले छटपटाउँदा छटपटाउँदै पेटमै बच्चा मरेर मृत्युसँग लडिरहेकी थापाको ज्यान जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएपछि आफूले घरआँगन नेपालका अध्यक्ष दिपक सिलवालसँग सम्पर्क गरी सोमबार सिम्रिक एयरको हेलिकप्टरबाट पोखराको मणिपाल अस्पतालमा पठाएर उद्धार गरेको उज्यालोलाई जानकारी दिनुभयो ।

गएको ९ गते थापाको सुत्केरी हुने दिन बताउने उहाँको परिवारले भौगोलिक विकटता र चेतना अभावले थापालाई स्वास्थ्य संस्था नपुर्याउँदा समस्या परेको स्थानीय शिक्षक कालिप्रसाद थापाको भनाई छ  ।

श्रीमान गोपाल थापा मजदुरी गर्न काठमाडौंमा रहेका बेला सुत्केरी बेथा लागेकी थापालाई आइतबार प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा भर्ना गरिएको थियो ।भौगोलिक विकटताका कारण सदरमुकाममा रहेको जाजरकोट अस्पतालमा ल्याउन दुई दिन लाग्ने र जिल्लाकोे एक मात्र अस्पतालमा पनि सुरक्षित ढंगले सुत्केरी गराउने विशेषज्ञ डाक्टर र श्रोतसाधन नभएपछि थापालाई हेलिकप्टरबाट पोखरा पुर्याइएको अध्यक्ष शाहले जानकारी दिनुभयो । थापाको अहिले मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको उहाँका देवर भक्तबहादुर थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँले  वारेकोट गाउँपालिका र घरआँगन नेपालका दिपक सिलवालका कारण भाउजूको ज्यान बचेको बताउनुभयो । ‘दाइ घरमा नभएका बेला हामी आपतमा परेका थियौँ, तर गाउँपालिका अध्यक्ष महेन्द्र शाह र दिपक सिलवाल हाम्रा लागि भगवान हुनुभयो’, उहाँले भन्नुभयो  ।

यसअघि वारेकोट गाउँपालिकाले घरआँगन नेपाल संस्थासँग आफ्नो गाउँपालिकामा सुत्केरी हुन नसक्ने र गम्भीर विपतमा परेर गतिलो अस्पतालसम्म पुग्न नसक्ने अप्ठेरो अवस्थामा परेका सर्वसाधारणको लागि हेलिकप्टरबाट उद्धार गर्ने सहमति अनुसार आफूहरुको आर्थिक सहयोगमा वारेकोटकी महेश्वरी थापालाई उद्धार गरिएको घर आँगन नेपालका अध्यक्ष दिपक सिलवालको भनाई छ । उहाँले  महेश्वरीलाई जाजरकोटको वारेकोटबाट पोखरासम्म ४ लाख २५ हजार रुपैयाँ लगानी गरेर उद्धार गरिएको पनि जानकारी दिनुभयो ।

केही समयअघि मात्रै  वारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रमा विपत र सुत्केरी बेथाबाट पीडित महिला र अन्य सर्वसाधारणहरुलाइ तत्काल उद्धार गरी जीवन सुरक्षाको पहल गर्न सवै वडाहरुमा हेलिप्याडहरु निर्माणसमेत भएको जनाएको छ । सडक नपुगेको दुर्गम क्षेत्रमा रहेको वारेकोट गाउँपालिकाले भविष्यमा कुनै पनि अवस्थामा  हेलिकप्टरबाट उद्धार गर्न गाउँपालिकाका ९ वटै वडामा १८ लाख रकम लगानी गरी हेलिप्याडहरु निर्माण सम्पन्न गरिसकेको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहको भनाइ छ ।

गाउँपालिकामा एक साताअघि मात्रै वर्ल्ड्लिंक कम्युनिकेशनको इन्टरनेट सेवा पुगेको थियो । इन्टरनेटले गर्दा फोन सेवासमेत सहज नभएको क्षेत्रबाट जीवन मरणको अवस्थामा रहेकी सुत्केरी हुन नसेकेकी महिलाको उद्धार गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।

यहाँ स्काइको नेटवर्क मात्र रहेको छ । स्काइको नेटवर्कमा समस्या आएका कारण सम्पर्क गर्न पनि असहज भएको थियो । इन्टरनेट भएका कारण म्यासेन्जरबाट सम्पर्क गरेर हेलिकप्टरको सहायता मागिएको हो । त्यसपछि पीडितको उद्धार गर्न सहज भएको हो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया