सुदूरपश्चिम अख्तियारमा पाँच वर्षमा ४ हजारभन्दा बढी उजुरी दर्ता

 मंसिर २५, २०७५ मंगलबार १०:२०:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशमा पाँचवर्षको अवधिमा चार हजार २ सय ९८ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । ती उजुरी मध्ये ३ हजार ६ सय ५२ फर्छ्यौट भएका छन् भने ६ सय ४६ फैसला हुन बाँकी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/७१ मा ७ सय ४९ मुद्दा दर्ता भएको मा २ सय ३२ फर्छ्यौट भएका थिए ।  त्यस्तै आ.व.०७१/७२ मा १ हजार १ सय २६ उजुरी दर्ता भएका थिए । 

अघिल्लो वर्षको बाँकी रहेको जोडेर त्यस वर्ष १ हजार ६ सय ४३ उजुरी पुग्दा १ हजार १ सय ३२ मात्रै फर्छ्यौट भएको अख्तियारका अधिकृत राजन नेपालले बताउनुभयो । उहाँका अनुसार ५ सय ९ मुद्दा फैसला हुन बाँकी रहेको थियो । त्यस्तै आर्थिक वर्ष ०७२/७३ मा ९ सय ५८ मुद्दा दर्ता भएकोमा कुल जिम्मेवारी १ हजार ४ सय ६७ पुग्दा १ हजार ४३ मुद्दा फर्छ्यौट भएका थिए । ४ सय २४ मुद्दा फैसला हुन बाँकी रहेको थियो । 

आर्थिक वर्ष ०७३/७४ मा ६ सय ४४ मुद्दा दर्ता भएकोमा कुल जिम्मेवारी १ हजार ६८ पुग्दा ६ सय ९५ फर्छ्यौट भएको र ३ सय ७३ फैसला हुन बाँकी देखिएको छ । गएको आर्थिक वर्षमा मा ५ सय ८८ नयाँ मुद्दा दर्ता हुँदा कुल जिम्मेवारी ९ सय ६१ मध्ये ४ सय १९ फर्छ्यौट र ५ सय ४२ मुद्दा फैसला हुन बाँकी रहेको देखिएका छन् । 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ सय ३३ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् । जसमध्ये कुल जिम्मेवारी ७ सय ७५ पुग्दा अहिलेसम्म १९ मुद्दा फछ्र्याैट भएका छन् भने ६ सय ४६ मुद्दा फैसला हुन बाँकी रहेको सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी उजुरी कैलाली जिल्लामा र सबैभन्दा कम उजुरी बाजुरा जिल्लाबाट परेको छ । 

सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गएको आर्थिक वर्षसम्म कैलालीबाट मात्रै १ हजार २ सय २१ उजुरी दर्ता भएका छन् । जस मध्ये  १ हजार ३३ उजुरी फर्छ्यौट भइसकेका छन् भने १ सय ८८ मुद्दा फैसला हुन बाँकी रहेको छ । त्यस्तै कञ्चनपुरबाट त्यो समयबाट अहिलेसम्म १ हजार ४४ उजुरी दर्ता भएकोमा ९ सय ३३ फर्छ्यौट भएका छन् भने १ सय ११ मुद्दाफैसला हुन बाँकी  रहको छ । बैतडी जिल्लाबाट अहिलेसम्म ४ सय ९५ उजुरी दर्ता भएको देखिएको छ । जसमध्ये  ३ सय ९५ फर्छ्यौट भएका छन् भने १ सय उजुरीका  फैसला हुन बाँकी रहेको छ ।

डडेल्धुराबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ३ सय ५० उजुरी दर्ता भएका छन् । ती मध्ये २ सय ९१ फछर्याैट भएका छन् भने ५९ उजुरी फैसला हुन बाँकी रहेको छ । त्यस्तै डोटी जिल्लाबाट अहिलेसम्म ३ सय ४१ उजुरी दर्ता भएकोमा ३ सय ११ फर्छ्याैट भइसकेको छ भने ३० उजुरीमाथि फैसला हुन बाँकी अख्तियारका अधिकृत राजन नेपालले जानकारी दिनुभयो ।

त्यस्तै दार्चुला जिल्लाबाट ५ वर्षमा २ सय ६१ उजुरी दर्ता भएकोमा २ सय १४ फर्छ्यौट भएका छन् भने ४७ उजुरीमाथि फैसला हुन बाँकी रहेको कार्यालयले जनाएको छ । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङबाट २ सय ४३ उजुरी दर्ता भएकोमा १ सय ८० फर्छ्यौट भएको र ६३ मुद्दामाथि फैसला हुन बाँकी रहेको जनाइएको छ ।

त्यस्तै अछाम जिल्लाबाट २ सय ११ उजुरी परेकोमा १ सय ७४ फछ्र्यौट भइसकेको र ३७ उजुरीमाथि फैसला हुन बाँकी रहेको जनाइएको छ । त्यस्तै बाजुरा जिल्लाबाट ५ वर्षमा १ सय १६ उजुरी परेकोमा १ सय १० फछर्याैट भएको र ६ वटा उजुरीमाथि फैसला हुन बाँकी रहेको सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी शिक्षा, प्रशासन, राजश्व र यातायातमा भ्रष्टाचार भएको भन्दै उजुरी परेको सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया