सुदूरपश्चिमको भुवाँ खेल डोटीबाट सुरु

 मंसिर २५, २०७५ मंगलबार १४:८:९ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशको डेउडा पछिको दोश्रो ठूलो खेल (नाच) भुवाँ नाच सोमबार डोटीबाट सुरु भएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखा गाउँबाट नाच सुरु भएको हो । झण्डै ५ देखि ७ दिनसम्म खेलिने भुवाँ खेल सिलगढी नगरपालिका वडा नम्बर १ का वडाका वडाअध्यक्ष बहादुरसिंह खड्काले बताउनुभयो ।

उहाँका अनुसार परापूर्व कालदेखि अर्थात डोटी राजाका पालादेखि उक्त भुवाँ खेल (नाच) खेल्न सुरु गरिएको हो ।  कम्तिमा पनि पाँच किसिमका बाजाका तालमा ७ देखि ८ वटासम्म भुवा खेल (नाच) खेल्ने गरिन्छ ।

परापूर्व कालका राजाका पालामा राजाका सैनिकले तालिम स्वरुप खेल्ने तथा युद्ध मैदानमा दुस्मनसँग कसरी लड्ने र विजयी हासिल गर्ने भन्ने कला त्यस नाचमा देखाइने गरेको तिखा गाउँका स्थानीयवासी तथा कांग्रेस नेता विजय खड्काले बताउनुभयो ।

‘पुरानो युद्ध कला र त्यसको जर्गेना गर्ने उदेश्यले यो नाच खेलिन्छ’, उहाँले भन्नुभयो, ‘युद्धमा आफू कसरी आफू बच्ने र दुस्मनलाई कसरी पराजित गर्ने भन्नेबारे सिकाइने भएकाले खेलको रौनक्ता नै अर्कै हुन्छ ।’

हात हातमा नाङ्गो तरबार बोकी खेलाडीहरुले पुरानो राजाको पालाको पोशाक पहिरिई पंक्ति बद्ध तरिकाले यो भुवाँ खेल (नाच) खेल्ने गर्दछन् । विजया दशमीको दिन सिलगढीको कालढुगां भन्ने ठाउँमा उराउ बाजा बजाएपछि यो खेलको सुरु हुने भए पनि यहाँका स्थानीयले मंसिरको तेश्रो सातामा मात्र आएर खेलको सुरुवात गर्ने गरेको अर्का स्थानीय बाजी खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उराउ बाजा बजाएपछि खेल हुनेबारे निश्चित हुन्छ तर स्थानीयवासीको फुर्सद अर्थात खेती पातीको काम सकिएपछि मात्रै यो खेल सुरु हुन्छ ।’ पाँच दिनसम्म लगातार खेल्ने भुवाँ खेल डोटीलगायत यहाँका पहाडी जिल्ला बाजुरा, अछाममा समेत खेल्ने गरिन्छ ।

दिनमा नाङ्गो तरबारले भुवाँ खेल्ने तथा रातिको समयमा सुदूरपश्चिमेली डेउडा तथा परापूर्व कालका राजा रजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानीयवासीहरु बताउँछन् ।

पाँच दिनको अबधीमा डोटीको प्रसिद्ध देवी शैलेश्वरी, जिल्ला प्रशासन कार्यालय तथा पूर्वराणाकालीन दरबार डोटी गौडमा समेत यो खेल (नाच) देखाई छैटौं दिनमा कालढुगामा नै गएर यो खेलको बिर्सजन हुने गरेको दिपायलका स्थानिय गणेश भण्डारीले बताउनुभयो ।

यो खेलमा सबैभन्दा महत्वपूर्ण तथा रोचक मानिने ‘घाँ’ नाच हो । जुन खेलमा दुई जना खेलाडीले हातमा नाङ्गो तरबार समातेर नाच्दा नाच्दै एक अर्कालाई हिर्काउने र आफूलाई तरबारबाट बचाउन छेक्ने गर्दछन् ।

भुवाँ डेउडामा सबै खेलाडी सामेल हुने भएपनि ‘घाँ’ खेलमा भने सबैलाई समाबेस गरिँदैन् । यो खेलमा चोट पटक लाग्न सक्ने भएकाले ‘घाँ’ खेल खेल्नमा पोख्त भएकाहरुलाई मात्रै खेलमा खेल्न दिने नियम रहेको छ । 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया