इलाका प्रशासन कार्यालय २ महिनादेखि प्रमुख विहीन

 जेठ ३१, २०७५ बिहिबार ९:४०:४६ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय दुई महिनादेखि प्रमुख विहीन बनेको छ । यस अघि कार्यालय प्रमुख रहेका नारायणप्रसाद रेग्मीको सरुवा भएपछि नयाँ कार्यालय प्रमुख नआएको प्रशासन स्रोतले जनाएको छ ।
 
कार्यालयमा लामो समय देखि प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सबैभन्दा बढी कार्यालयबाट नागरिकता लिन आउनेहरु प्रत्यक्ष मारमा परेका छन् । इलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु पर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । 

यस्तै कार्यालयका कर्मचारीले पनि दुई महिना देखि तलब खान नपाएको गुनासो छ । कार्यालयका एक कर्मचारीले भन्नुभयो, हाकिम साब नआउँदा दुई महिनाको तलब समेत खान पाएका छैनौँ ।’

आफ्नाे समस्या छँदै छ यता कार्यालयमा नागरिकतालगायतका सेवा लिन आउनेले समेत प्रश्न गर्न थालेको उहाँले बताउनुभयो । कार्यालयमा प्रमुख विहिन हुँदा काम गर्न समेत समस्या भएको कार्यालय प्रशासनको भनाइ छ । 

यता प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भए लगत्तै कर्मचारी पठाइ दिने भनेर गृहमन्त्रालयमा ताकेता गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘ईलाका प्रशासन कार्यालयबाट सेवा लिन आउने सेवाग्राहीलाई समस्या भएको मैलै पनि महशुस गरेको छु ।’ 

अबको केही दिन भित्रै कर्मचारी पठाउने प्रयास रहेको जानकारी मन्त्रालयले गराएको उहाँले जानकारी दिनुभयो । कर्मचारीले तलब नपाएकाले मर्कामा परेका छन् अब पनि कार्यालय प्रमुख नआउँदा कसरी मिलाउनु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिंदै प्रमुख जिल्ला अधिकारी घिमिरेले यस समस्याको समाधान तत्कालै गर्न सकिने बताउनुभयो ।

 इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले दुई महिना देखि नपाएको तलब अब एक – दुई दिनभित्रै पाउने व्यवस्था मिलाउने उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया