नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश

 मंसिर २५, २०७५ मंगलबार १७:३३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

नेपाली कांग्रेसको आगामी महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन जारी केन्द्रीय कार्य समितिको मंगलबारको बैठकमा पेश गरिएको हो । पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले देशभरका नेता, कार्यकर्ताको सुझाव लिएर तयार पारेको राजनीतिक प्रतिवेदन बैठकमा पेश गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य समितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा संविधानको सफल कार्यान्वयनका लागि इमान्दार बन्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । त्यसैगरी राष्ट्रको समृद्धि र स्वाभिमानका लागि परिपक्व, जिम्मेवार र गम्भीर भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरद्वन्द्वका कारण पनि सरकारले अपेक्षा अनुसार गति लिन नसकेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको प्रवक्ता शर्माले बताउनुभयो ।

कांग्रेसको प्रस्तावित राजनीतिक प्रतिवेदनमा राम्रो काम गरे समर्थन र नराम्रो काम गरे सरकारको विरोध गर्ने नीति लिने पनि उल्लेख गरिएको छ । प्रवक्ता शर्माले राजनीतिक प्रतिवेदनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेकोमा स्वागत र सम्मान गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि रोजगार दाता र श्रमिकसँग व्यापक सहकार्य गर्न पनि सरकारलाई सुझाएको छ ।

काग्रेसले संविधान संशोधन गर्न पनि सरकारलाई दवाव दिएको छ । तराई मधेशमा देखिएको असन्तुष्टि सम्बोधन गर्न पनि सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने कांग्रेसको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकले आर्थिक प्रतिवेदन पारित गरेको थियो । आगामी शनिबारदेखि काठमाडौंमा आयोजना हुने महासमिति बैठकमा पेश गर्न कांग्रेसले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो ।

राजनीतिक प्रतिवेदनमाथिको छलफल भोलि टुंग्याउने तयारी गरिएको छ । प्रवक्ता शर्माले अब बैठकमा सांगठनिक प्रतिवेदन पेश हुने जानकारी पनि दिनुभयो । मंसिर १३ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफल पनि भइसकेको छ ।

प्रवक्ता शर्माले महासमिति बैठकको तयारीको व्यवस्थापकीय कामलाई पनि अन्तिम चरणमा पु¥याइएको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया