भीरबाट लडेर इलाममा खानेपानी याेजनाका एक कर्मचारीको ज्यान गयो

 मंसिर २५, २०७५ मंगलबार २०:३१:४२ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा मंगलबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा रोङ गाउँपालिका वडा नम्बर–६, का ५४ वर्षीय प्रेम योञ्जन भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

मृतक योञ्जन खानेपानीको लाइन बनाउने क्रममा भीरबाट लडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । योञ्जन सलकपुर खानेपानी तथा सरसफाई योजना समितिका कर्मचारी हुन् । 

सोमबार दिउँसो खानेपानी योजनाको लाइन मर्मत गर्न योञ्जन सलकपुरबाट करिब ४ किलोमिटर पर रम्भ्याङ भन्ने ठाउँमा पुगेको स्थानीयले बताएका छन् । उनको त्यहाँबाट फर्कने क्रममा धजे, सलकपुर खण्डको तारे भीरबाट करिब एक सय मिटर तल खसेर ज्यान गएको बताइएको छ ।

बेलुकासम्म घर नपुगेपछि खोजी गर्ने क्रममा भीरमुनी भेटिएको उनको शव पोष्टमार्टमका लागि झापा लगिएको प्रहरीले जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया