जनकपुरमा विवाहपञ्चमीको रौनक : योगी आदित्यनाथ जन्ती, स्वागतमा १ हजार १ मुर्तेको भण्डारा

 मंसिर २६, २०७५ बुधबार ९:४८:४० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाईंदै छ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ ।

सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव गएको मंसिर २१ गतेबाट सुरु भएको थियो । मंसिर २१ गते नगर दर्शन, मंसिर २२ गते फूलबारी लीला, मंसिर २३ गते धनुष यज्ञ, मंसिर २४ गते तिल्कोत्सव र विवाहको पूर्व संध्यामा मंसिर २५ गते राम र जानकीको मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ । 

आज छैटौँ दिन रामाजानकीको विवाह पश्चात् आउँदो शुक्रबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले बताउनुभयो । 

विवाहपञ्चीमा जन्ती आउँदै मुख्यमन्त्री योगी 

बुधबार भइरहेको रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । बिहान साढे १० बजे विमानबाट सिधा जनकपुर विमान स्थलमा अवतरण गर्नहुने मुख्यमन्त्री योगी सिधा जानकी मन्दिर पुगेर विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको प्रदेश २ सरकारका कृषि व्यवस्था तथा भूमिसुधार मन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो ।

त्यस पश्चात् प्रदेश २ सरकारले उहाँको स्वागतमा प्रदेश सरकारको सचिवालय मधेश भवनमा आयोजन गरेको १ हजार १ साधुसन्तको विशेष भण्डारा (भोज)मा सहभागी हुने कार्यक्रम रहेको छ । ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा हुने राम र सीताको स्वयम्बर कार्यक्रममा दुवै देशका समकक्षी मुख्यमन्त्रीद्धय सहभागी हुनेछन् । बाह्रविघा मैदानमा दवै मुख्यमन्त्रीले ४/५ मिनेट प्रवचन दिने समेत कार्यक्रम रहेको मन्त्री साहले जानकारी दिनुभयो ।

प्रवचन पश्चात् मुख्यमन्त्री योगी आजै फर्किने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ ।

दर्शनार्थीको भीड 

यस वर्षको सीताराम विवाहपञ्चमी महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी आउने चर्चाले एकहप्ता अघिदेखि नै श्रद्धालुहरु जनकपुर आउने क्रम जारी छ । अयोध्याबाट रथ, घोडा र उँटमा साधुसन्तहरु जन्ती आएकाले विशेष आकर्षण रहेको छ । त्यसैले नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं दर्शनार्थी आएकाले जनकपुरको सहर, बजार गल्ली जताततै खचाखच भरिएको छ ।  

मिथिलाको विधिविधान अनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आउने गरेका छन् ।

निःशुल्क सेवा : खानेदेखि बस्नेसम्म  

विवाहपञ्चमी महोत्सवमा सहभागि हुन जनकपुर आएका श्रद्धालुभक्तजनलाई जनकपुरका विभिन्न संघ संस्थाले निःशुल्क सेवा दिइरहेका छन् । निःशुल्क आवास, निःशुल्क स्वास्थ्य शिविर, खाना तथा खानेपानी लगायतको व्यवस्था गरेका छन् ।

विभिन्न स्थानमा टेन्ट तथा पण्डाल लगाएर संघ संस्थाहरुले श्रद्धालुलाई निःशुल्क सेवा दिइरहेका छन् ।

यसरी हुन्छ रामजानकीको विवाह

त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्छि त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन अहिले पनि कायमै छ । बुधबार दिउँसो साधुसन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।

राम मन्दिरका महन्त रामगिरी छोरा पक्ष रामका बुबाको भूमिकामा हुन्छ भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताकी बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

स्वयम्बर पश्चात दुवै डोला जानकी मन्दिरमा पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार रामजानकीको विवाह सुरु हुने गर्दछ । यहाँ बनाइएको विवाह मण्डपमा मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह हुने गर्दछ ।

सुरक्षा व्यवस्था  कडा

सीताराम विवाहपञ्चमी महोत्सव र उत्तर प्रदेशका मुख्यमन्त्र आदित्यनाथ योगीको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । कुनै अप्रिय घट्ना नहोस् भन्ने चाहना अनुसार जकपुरको चोक चोक र गल्ली गल्लीमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

जनकपुरमा कम्तिमा चार हजारको संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया