मिटरमा जान नमान्ने ट्याक्सीलाई ६ महिना प्रतिबन्ध

 मंसिर २६, २०७५ बुधबार १२:३८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ट्याक्सी चालकले ५ पटकसम्म मिटरमा जान नमाने ६ महिना ट्याक्सी चलाउन नपाउने भएका छन् । उपत्यकामा ट्याक्सी चालकले मिटरमा जान नमानेको र बढी भाडा लिने गरेको गुनासो धेरै आएपछि ट्राफिक प्रहरीले ५ पटकसम्म मिटरमा जान नमान्ने चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न थालेको हो ।

गएको विहीबारदेखि लागू भएको नियम अनुसार दैनिक १ सयको हाराहारीमा मिटरमा जान नमान्ने र बढी भाडा लिने ट्याक्सी चालकको लाइसेन्स निलम्बन गर्न थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यसको अनुगमनका लागि ५० जना भन्दा धेरै ट्राफिक प्रहरी खटाइएको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार ५ पटकसम्म बढी भाडा लिने, मिटरमा जान नमानेलाई  ३ हजार रुपैयाँ जरिवाना तिराउने  र सम्झाई बुझाई गरिन्छ । तर छैटौँ पटक पनि त्यहि कुरा दोहोरियो भने ६ महिनासम्म ट्याक्सी चलाउन नपाइने सापकोटाको भनाई छ ।

यसैबीच फ्लोरिसेन्ट ज्याकेट नपाउने माइक्रोका चालक तथा सहचालक कार्बाहीमा पर्न थालेका छन् । फ्लोरिसेन्ट ज्याकेट नलगाउने माइक्रोका चालक तथा सहचालकलाई ५ सय रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया