पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण, हेटौंडा राजधानी बन्छ : मुख्यमन्त्री पौडेल

 मंसिर २६, २०७५ बुधबार १४:४२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गर्नुभएको छ । उहाँले हेटौंडा नै प्रदेशको राजधानी रहने बताउनुभएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । ‘आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होइन् । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं’, मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।

मुख्यमन्त्री पौडेलले आफूहरु भर्खंरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरि राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राख्नुभयो ।

‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ । भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी सार्नेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ’, मुख्यमन्त्री पोडेलले भन्नुभयो, ‘१३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भैसकेका छन् । डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’

उहाँले लगभग काम नरोकिने गरी कानुन निर्माण गरिसकिएको बताउनुभयो । ‘धेरै प्रतिशत कानुनहरु बनाइसक्यौं । कामहरु नरोकिने गरी कानुन निर्माण गरिसक्यौं । त्यो प्रमाणित पनि भैसकेको छ’, मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन् ।’
मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाइदिनुपर्ने बताउनुभयो ।

कानुन र कर्मचारीको अभावका कारण आफूहरुले नागरिकले अपेक्षा गरेबमोजिमको विकास निर्माणका कामहरु गर्न नसकेको उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया