अहिलेको सरकारले दुईतिहाईको दम्भ देखाउन हुँदैन : मन्त्री यादव

 मंसिर २६, २०७५ बुधबार १५:४०:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अहिलेको सरकार दुई तिहाईको भए पनि दम्भ देखाउनु नहुने बताउनुभएको छ । 

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको ३३ आैँ वार्षिक उत्सवको आज हेटौंडामा उद्घाटन गर्दै मन्त्री यादवले नागरिकले काम गर्नका लागि दुईतिहाई मत दिएकाले घमण्ड गर्न नहुने बताउनुभयो । 

अहिले पनि सरकार सञ्चालनका क्रममा सामन्तका पार्टपुर्जा भएका कारण समस्या हुने गरेको बताउँदे उहाँले भन्नुभयो, ‘हामी निरकुंशताको पक्षधर होइनौँ । अहिलेकै अवस्थामा सरकार असफल भयो भनिन्छ तर त्यो होइन । सामन्तका पार्टपुर्जाहरु भने केही बाँकी छन् । खिया लागेकाले सफा पनि गर्दै जानुपर्ने हुन्छ ।’

कुनै पनि उद्योग बन्द अवस्थामा पुर्‍याउने कि सञ्चालन गर्ने भन्ने कुरा मजदुरको हातमा रहेको मन्त्री यादवले बताउनुभयो । अहिले नै नेपालीहरुको मनस्थिति भनेको आन्दोलनकारी ढंगको भएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘सिमेन्ट उद्योगमा काम गरे मात्र कर्मचारीले तलब पाउने नत्र तलब पाउने अवस्था नरहन सक्छ । आफ्ना मागहरु पूरा गराउनका लागि उद्योगको गेटमा सुत्छु भनेर कर्मचारी ट्रेड युनियनहरुले धम्की दिएर सुतेमा केही हुन्न । सुतेको सुत्यै हुनुहुनेछ । घरका बालबच्चा रुन थाल्नेछन् । त्यसैले काम गर्नुपर्छ ।’

उद्योगका ट्रेड युनियनका नेताहरु काम नगरिकन तलब खानुपर्छ भन्ने मानसिकता त्यागेर काम गर्नका लागि निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘भाषण होइन, काम गरेर देखाउने बेला आएको छ । राम्रो काम गर्ने कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्मलाई दण्ड सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्दै जानुपर्छ ।’ 

कार्यक्रममा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले सरकारले ल्याएको उद्योग नितिअनुसार काम गर्नुपर्ने बताउनुभयो । अब सरकारी सिमेन्ट उद्योगले निजी उद्योग भन्दा सस्तोमा सिमेन्ट बिक्री गर्नुपर्ने बताउनुभयो । 

अब हेटौंडा सिमेन्ट उद्योगको क्षमतामा विकास गर्नु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, तीन नम्बर प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानिया, प्रदेश सांसदहरु जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, उद्योग मन्त्रालयका महानिर्देशक विनोद प्रकाश सिंह, हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया