सेती नदीमा वर्षौको पक्की पुल ठेक्काको काम अलपत्र : ६–६ महिनामा काठेपुल बनाउन लाखौं रुपैयाँ खर्च

 मंसिर २६, २०७५ बुधबार १६:५:३० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाको सेती नदीमा वर्षौदेखि सुरु गरिएका पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन् ।

सेती नदी पारि सवारी साधन सञ्चालनमा ल्याउनका लागि निर्माण गर्न लागिएका पक्की पुलहरु अलपत्र अवस्थामा रहेका हुन् । पुल निर्माण अलपत्र पर्नुमा ठेकेदारको लापरबाही मुख्य कारण रहेको बुझिएको छ ।

ठेक्का लिने र समयमा काम पूरा नगरेका कारण यस्तो समस्या बढेको हो । सेती पारिका तीन गाँउपालिका तथा छिमेकी जिल्ला बाजुरा र अछामलाई सडक सञ्जालसँग जोड्न सकिने पक्की पुलको निमार्णको समयावधि सकिँदा पनि पुल बन्न सकेका छैनन् ।

जिल्ला सदरमुकाम नजिकै सेती नदी माथिको पानकोट पुल, तमैलमा निमार्ण हुन लागेको पक्की पुल, थलारा गाउँपालिकाको झनाना बजार नजिकैको पक्की पुल र तल्कोट गाउँपालिकाको देवसैनमा बन्न लागेको पुल निर्माणको समय गुज्रिसक्दा पनि बन्न सकेका छैनन् ।

सेती नदी पारि रहेका स्थानीय तहलाई जोड्ने गरी २०७३ साल असार महिनामा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको सदरमुकाम नजिकैको सेती नदीको पानकोटमा पर्ने पक्की पुल चार वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

सेती नदी पारि रहेको जिल्लाको झण्डै आधा भू–भागलाई सडक सञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षाै अघि निर्माण सम्पन्न भएका सडकहरु पनि बेकामे भएका छन् । ठेकेदार कम्पनी निलगिरी निमार्ण सेवा र जागृती निमार्ण सेवाले ६ करोड ७८ लाखको लागतमा संयुक्त रुपमा पुल निमार्णको जिम्मेवारी पाएका थिए ।

डिजाइन इस्टमेटमा त्रुटि भएका कारण पुल निमार्ण हुन नसकेको निमार्ण कम्पनीले जनाएको छ । अहिले पुनः टेन्डर भई निमार्ण कार्य सुरु हुन लागेको छ ।तमैलमा निर्माणाधीन पुलको पनि आउने पुस महिनामा सम्झौता अवधि सकिँदै छ । तीन वर्षभित्र सम्पन्न गर्ने शर्तमा त्यो पुल निर्माणको ठेक्का के एच कन्ट्क्सन प्रालिले ११ करोड २५ लाख रुपैयाँमा पाएको थियो ।

निमार्ण कार्यको समायावधि सकिँन लाग्दा पनि यस पुलको काम २० प्रतिशत मात्र सकिएको छ । ठेक्का लिने तर काम नगर्ने प्रवृतिले गर्दा विकासका योजना आए पनि आफूहरुले सुविधा पाउन नसकेको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले बताउनुभयो  ।

सेती लोकमार्ग अन्तर्गत पर्ने खप्तड छान्ना गाउँपालिकाका स्थानीयले दुई वर्षअघि यही ठाउँमा काठको अस्थायी पुल निर्माण गरेर गाडी सञ्चालन गरेका थिए । पुल निर्माणको काममा ढिलाइ भएपछि स्थानीयहरू ठेकेदार कम्पनीप्रति आक्रोशित हुन थालेका छन ।

तल्कोट गाउँपालिकाको देवसैन भन्ने स्थानमा सेती नदीमा निर्माण हुनु पर्ने मोटरपुलको ठेक्का २०६८ सालमा भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निर्माणको जिम्मा लिएको सो पुलको काम पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

यद्यपी कम्पनीले प्रत्येक वर्ष ठेक्का निमार्णको अवधि भने नवीकरण गरिरहेको छ । थलारा गाउँपालिकाको झनानामा निर्माण गर्न लागिएको पक्की पुलको काम पनि अलपत्र अवस्थामा छ ।

थलारा गाउँपालिकालाई जयपृथ्वी राजमार्गसँग जोड्ने पुल ठेकेदारको बेवास्ताका कारण अलपत्र परेको स्थानीय व्यक्तिहरुको आरोप छ । राजनीतिक संरक्षणका कारण ठेकेदारले निमार्ण कार्यमा ढिलाई गर्ने गरेको स्थानीयहरुको आरोप छ ।

लाखौंको लागतमा काठे पुल हाल्न होड बाजी

सेती नदीमा निर्माण गर्नका लागि भन्दै करौडौंको लागतमा पक्की पुलहरुको ठेक्का भएको वर्षौ बितिसक्दा पनि अहिलेसम्म काम भने भएको छैन् । काम नभएकोप्रति सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।

पक्की पुललाई चाँडो निर्माण गर्न पहल गर्नुको सट्टा यहाँका केही जनप्रतिनिधिहरुले भने वर्षैपिच्छे लाखौंको लगानी गर्दै ५–६ महिनाका लागि कोठे पुल निर्माण गर्न होड बाजी जस्तै चलाएको मष्टा गाउँपालिकाका समाजसेवी उमेश जेठाराले बताउनुभयो ।

मष्टा गाउँपालिकाको लागत रहने गरी डुङ्ग्रीमा एउटा र कपडेमा एउटा काठेपुल निर्माण गरिएको छ । काम गरी सकेपछि स्टमेट उठाएर ‘कतिको लागतमा निर्माण भयो’ भनेर भन्न सकिने मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताउनुभयो ।

यस्तै तल्कोट गाउँपालिकाले पनी सेती नदीमा काठे पुल निर्माण गरी सवारीका साधनहरु सञ्चालनमा ल्याएकको छ । असोज महिनामा काठे पुल निर्माण सम्पन्न गरी सवारीका साधनहरु सञ्चालनमा ल्याइएको इञ्जिनियर विजय खातीले बताउनुभयो ।

काठेपुलको स्टमेट उठाउन बाँकी रहेका कारण लागत अहिले भन्न नसकिने उहाँको भनाई छ । यता खप्तड छान्ना गाउँपालिकाले पनि ५–६ महिनाका लागि ७–८ लाख रुपैयाँ खेर नफाल्ने भन्दै सेती नदीमा काठे पुल निर्माण नगर्ने बताउनुभयो ।

‘सेती नदीमा काठे पुल निर्माण गर्नु भनेको नागरिकले दिएका करको दुरुपयोग गर्नु हो’, अध्यक्ष रोकायाले भन्नुभयो, ‘तीन महिना ५–६ महिनाभन्दा बढी पुल रहँदैनन् । सेती नदीको पानीको बहाब बढ्ने बित्तिकै सेती नदीले काठे पुल बगाएर लिन्छ । त्यसैले लाखौंको लागनी खेर फाल्नुभन्दा काठे पुल नहाल्नु नै उचित लागेर सेती नदीमा काठेपुल निर्माण नगर्ने निर्णय खप्तड छान्ना गाँउपालिकाले लिएको हो ।’

बन्न लागेको पक्की पुल चाँडो निर्माण गर्नका लागि आफ्नो क्षमताले भ्याएसम्म लागि परेको उहाँको भनाई छ । यस्तै सेती नदीमा बन्न लागेका पक्की पुलहरु निर्माण गर्न सबैले पहल चाल्न जरुरी रहेको उहाँको भनाई छ ।

२०७४ सालमा बनेका काठेपुलको लगानी खेर

२०७४ सालमा बनेका काठे पुलहरु ४ महिना नपुग्दै सती नदीले बगाएको थियो । स्थानीय तहले लाखौं खर्च गरेर निर्माण गरेका काठेपुल ४ महिना नपुग्दै सेती नदीले बगाएको हो ।

‘दुईचार महिना सुविधा पाए पनि आठ महिना जस्ताको त्यस्तै हुने गरेको छ । २०७४ सालमा मष्टा गाउँपालिकाले झण्डै २५ लाख खर्च गरेर सम्देउ र कपडे भन्ने ठाउ“मा दुईवटा काठेपुल निर्माण गरेको थियो । ती दुवै पुल सञ्चालन भएको ४ महिना नबित्दै वैशाखको दोस्रो हप्तातिर सेती नदीले बगाई दिएको थियो ।

मष्टा मात्र हैन तल्कोट गाउँपालिकाले सेती नदीको रुपातोला भन्ने ठाउँमा र थलारा गाउ“पालिकाकाले झनाना भन्ने ठाउँमा बनाएका काठे पुल पनि वैशाख महिनामै नदीले बगाइसकेको छ । यी सबै पुल निर्माणको लागि स्थानीय तहले ५२ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए ।

बझाङका स्थानीय तहहरुले प्रत्येक हिउँदमा सेती नदीमा अस्थायी पुल बनाउनका लागि प्रतिस्पर्धा नै गर्ने गरेका छन् । यस्ता पुलमा  मंसिरदेखि वैशाखसम्म मात्र गाडी चल्छ ।

नदीमा पानीको बहाब अलिकति बढ्ने बित्तिकै जुनसुकै बेला पनि पुल बगाएर लैजान्छ ।

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया