कार्पेन्टरको बारेमा नबुझी कतार पुगें

 मंसिर २६, २०७५ बुधबार १६:१३:१ | मेरो कथा मेरो भोगाई

हरिकुमार केसी/बेथान, रामेछाप ।

मेरो मामाको छोरा कतार गएको थियो । उसले राम्रै कमाइरहेको थियो । उसले कमाएको देखेपछि मलाई पनि विदेश जान पाए हुन्थ्यो भन्ने लाग्यो । घरमा तीन जना छोरा, एक छोरी अनि हामी दुई गरी ६ जनाको परिवार ।

छोराछोरीको भविष्य अनि परिवारका आगामी दिन सोचेर विदेश जान पाए धेरै समस्या कम हुन्थे भन्ने लाग्यो । कतारमा भएको मामाको छोराले नै भिसा पठाउने भनेपछि म जान तयार भएँ । 

उसले मलाई कार्पेन्टरको काम हो भन्यो । मैले कार्पेन्टर भनेको कारमा पेन्ट गर्ने अर्थात कारमा रंग लगाउने काम भनेर बुझें । उसले पनि मलाई कार्पेन्टर भनेको यो हो भनेर बुझाएन । मैले पनि सोधिन । आफैंले बुझेको जस्तै होला भन्ने सोचें । 

त्यही काममा जान तयार भएँ । यता ३० हजार रुपैयाँ जति खर्च भयो अनि मामाको छोरालाई भिसाका लागि भनेर २० हजार रुपैयाँ दिएँ । त्यसो गर्दा जम्मा ५० हजार रुपैयाँ जति खर्च गरेर म कतार पुगें । 

मामाको छोराले कार्पेन्टरको काम भनेपनि सुरुमा हामीलाई हेल्परको काम लगायो । त्यहाँ पुगेपछि मात्रै मैले कार्पेन्टर भनेको त काठको मिस्त्री रहेछ भन्ने बुझें । मामाको छोराले पनि मलाई मैले बुझेको छु भनेर नभनेको रहेछ । 

त्यसका लागि त सीप पनि चाहियो । त्यही भएर हामीलाई एक वर्ष हेल्परकै काम लगायो । त्यसपछि देखेर अलिअलि बुझेपछि कार्पेन्टरको काम दियो । तर सप्लाई कम्पनी भएकाले यही नै काम मात्रै थिएन । कम्पनीले जे काम लगायो त्यही काम गर्नुपथ्र्यो । 

त्यसबाट कम्पनीले ५ सय बेसिक २ सय खाना खर्च गरेर ७ सय रियाल दिन्थ्यो । त्यतिबेला एक रियालको १७ रुपैयाँ हुन्थ्यो । यही तलबमा झण्डै ६ वर्ष काम गरें । ६ वर्ष पुगेपछि चाहिँ तलब बढेर १२ सय रियाल पुगेको थियो । तर त्यसपछि मलाई बस्न मन लागेन । 

६ वर्ष बस्दा कमाएर जोगाएको पैसाले काभ्रेको बनेपामा एउटा घडेरी किनें । यसैलाई विदेशको उपलब्धी मानेर घर फर्किएँ । विदेश भनेको आफ्ना कोही नभएको ठाउँ हो । तर त्यहाँ पुगेपछि आफू कहिले नपुगेको ठाउँका साथीहरु भेट पाइयो ।

त्यहाँ बसुञ्जेल आफ्नै परिवार जस्तो भएर बसियो पनि । नेपालका मात्रै होइन, अरु पनि देशका साथीहरुसँग पनि संगत भयो । त्यसबाट धेरै कुरा सिक्न पाइने रहेछ । त्यो नै विदेशको रमाइलो पक्ष थियो । 

तर ४२ डिग्रीको घाममा खट्नु र परिवारको यादले सताउनु चाहिँ विदेशमा हुँदाको नमिठो क्षण हुने रहेछ । यस्तै अनुभव सँगालेर अब गाउँठाउँमै केही गर्ने सोचेर म नेपाल फर्किएँ । 

अन्तिम अपडेट: असार ३, २०७६

तपाईको प्रतिक्रिया