मन्त्री बस्नेतले बाँडे गाडीमा डस्टबिन

 मंसिर २६, २०७५ बुधबार १६:१८:४४ | उज्यालो सहकर्मी

भक्तपुर –  वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुर र काभ्रेको सिमाना साँगामा बसेर यातायातका साधन र नगरपालिकाका मेयरलाई फोहोर संकलन गर्ने डस्टबिन वितरण गर्नुभएको छ । 

भक्तपुर र काठमाडौंको सिमाना मनोहरा पुलबाट गएको ६ गतेबाट सुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा उहाँले डस्टबिन वितरण गर्नुभएको हो । सडकमा फोहोर नफाल्न र यातायातका साधन भत्रै फोहोर संकलन गर्न मन्त्री बस्नेत र प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सार्वजनिक बसलाई फोहोर संकलन गर्ने डस्टबिन वितरण गर्नुभएको हो ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र काभ्रेको बनेपा नगरपालिकालाई पनि फोहोर संकलन गर्ने डस्टबिन वितरण गरिएको छ ।

कार्यक्रममा मन्त्री बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘विगतमा हरेक वर्ष सरकार परिवर्तन हुँदै आएको थियो, आठ–नौ महिनामा सरकार परिवर्तन हुँदा देशको समृद्धि हुन सकेको थिएन, अब यसरी आठ–नौ महिनामा सरकार बदल्ने परम्पराको अन्त्य भएको छ, देशले पाँचवर्षे स्थिर सरकार पाएको छ ।’ सरकारले नेपालको समृद्धिको नयाँ अभियान सुरु गरेको बताउँदै सरकार देशको आर्थिक, सामाजिक र साँस्कृतिक समृद्धिमा अगाडि बढेको उहाँको भनाई थियो ।

नागरिकले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्न मै सरकारको आठ–नौ महिना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचे जस्तैगरी काम गर्नेछ, देश विकास र समृद्धिमा अगाडि लम्किसक्यो ।’

साधन श्रोत सीमित रहनु र आवश्यकता धेरै भएकाले आवश्यकताको प्राथमिकताको पहिचान गर्र्दै जनताको अपेक्षा र देशको आवश्यकताहरु पूरा गर्न सरकार दृढतापूर्वक रुपमा अगाडि बढेको उहाँले बताउनुभयो । मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट सुरु हुने बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सफाइ अभियान नेपालकै नमुना अभियान भएको बताउँदै अबको तीन महिनाभित्र भक्तपुरमा धुलोसमेत नउड्ने गरी सफा हुने दावी गर्नुभयो । 

अरनिको राजमार्गखण्डको सर्भिस ट्रयाकलाई तत्काल खाली गर्न, फुटपाथमा राखिएको पसलहरु विकल्प दिएर हटाउन यहाँका वडाध्यक्षहरुलाई निर्देशन दिदै उहाँले भक्तपुरलाई सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाको सुरक्षित, उज्यालो र सफा बनाउन भोलिदेखि नै काम सुरु हुने बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया