निर्मलाको जन्मदिन : प्रशासन अगाडि यज्ञ, १४० दिन बित्दासमेत हत्यारा पत्ता लागेन

 मंसिर २६, २०७५ बुधबार १६:४६:५२ | दुर्गा उपाध्याय

कञ्चनपुर – निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नागरिक संघर्ष समितिले निर्मलाको आत्माको शान्तिको कामना गर्दै जिल्ला प्रशासन अगाडि हुमन (यज्ञ) गरेको छ ।

नागरिक संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार बुधबार जिल्ला प्रशासन अगाडि यज्ञ गरिएको हो । 

संघर्ष समितिले निर्मलाको न्यायका लागि विभिन्न कार्यक्रमको घोषणा गरे पनि बुधबार संयोगले उनको जन्मदिन परेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताउनुभयो । 

‘२१ गते बसेको समितिको बैठकले आन्दोलनका विभिन्न कार्यक्रम अन्तर्गत २६ गते  निर्मलाको आत्माको शान्तिका लागि हुमन गर्ने कार्यक्रम तय गरिसकेका थियौँ’, संयोजक भण्डारीले भन्नुभयो, ‘संयोगले आजै उनको जन्मदिन परेछ । त्यसैले परिवारसहित हामीले हुमन गरेका हौँ ।’

उहाँले राष्ट्रप्रमुखहरुको सद्धबुद्धिका लागि पनि हुमन कार्यक्रम राखिएको बताउनुभयो । निर्मलाको हत्यामासंलग्न भन्दै पटक–पटक निर्दोष व्यक्तिलाई दुःख दिने गरेको उहाँको आरोप छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको १४० दिन बितिसक्दा समेत वास्तविक हत्यारा पहिचान हुन सकेको छैन् । 

तर, घटनामा संलग्न भएको आशंकामा प्रहरी भिमदत्त –१८, का प्रदीप रावल र विशाल चौधरीमाथि अनुसन्धान भइरहेको बताएको छ । यता, स्थानीयले भने अपराधीलाई ढाकछोप गर्न प्रहरीले सर्वसाधारणलाई दुःख दिइरहेको गुनासो गरेको छन् । 

निर्मलाको न्यायका लागि आफूहरु ३२ दिनदेखि धर्नामा बस्दा पनि सरकारले वास्तविक दोषीलाई पहिचान गर्न नसकेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताउनुभयो । सरकारले घटनाको १४० सदिनसम्म पनि अपराधी पहिचान गर्न नसकेकोले आफूहरुले सरकारको आँखा खोल्नका लागि जिल्ला प्रशासन अगाडि नै हुमन गरेको उहाँले बताउनुभयो ।

हुमन सकेपछि संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई समेत यज्ञको प्रसाद पठाएका छन् ।


 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया