च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै

 मंसिर २६, २०७५ बुधबार १७:२२:२७ | एजेन्सी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति आठ खेल हुँदैछन् । 

स्पेनिस क्लब रियल मड्रिड रसियाको सीएसकेए मस्कोसँग खेल्दैछ । समूह जीमा चार जित र एक बराबरीको नतिजा निकाल्दै रियल मड्रिडले नकआउट चरणमा स्थान बनाइसकेको छ । यो समूहबाट इटालियन क्लब रोमा समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

चेक गणतन्त्रको भिक्टोरिया प्लाजेन र मस्कोभा भने बाहिरिसकेका छन् । यो समूहको दुवै खेल औपचारिकताका लागि मात्र हो । रोमाले भने भिक्टोरिया प्लाजेनसँग खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार ११ः४० मा हुनेछ । 

यस्तै जर्मन क्लब बायर्न म्युनिख नेदरल्याण्ड्सको आयाक्ससँग खेल्नेछ । समूह ईबाट दुवै क्लब नकआउट चरणमा पुगे पनि आजको खेलले समूहको विजेता र उपविजेताको निर्धारण गर्नेछ । विजयी टिम समूहको विजेता बन्नेछ । तर खेल बराबरीमा सकिएमा बायर्न विजेता बन्नेछ । अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र ग्रीसको एईके एथेन्स खेल्नेछन् । दुवै खेल राति पौने १२ बजे हुनेछ । 

इंग्लिस क्लब म्यानचेस्टर सिटी होफेनहेमसँग खेल्नेछ । समूह एफमा १० अंक बनाएर सिटीले नकआउट चरणमा स्थान बनाइसकेको छ । अर्को खेलमा युक्रेनको शाक्टार डोनेस्ट्क र फ्रान्सको लियोन खेल्नेछन् । लियोनलाई हराएर शाक्टार नकआउट चरणमा पुग्न चाहन्छ । तर खेल बराबरी भएमा लियोन नकआउट चरणमा पुग्नेछ ।

च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा युभेन्टस स्वीट्जरल्याण्डको योङ ब्वाइजसँग र म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब भ्यालेन्सियासँग खेल्नेछ । समूह एचबाट युभेन्टस र म्यानचेस्टर युनाइटेड नकआउट चरणमा पुगिसकेका छन् । तर आजको खेलले समूहको विजेता र उपविजेताको टुंगो लगाउनेछ ।


 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया