प्रतिनिधिसभा बैठकमा मूल्य वृद्धिबारे सरकारकाे ध्यानाकर्षण

 जेठ ३१, २०७५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल भैरहेकाेछ । 

विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै हुनुहुन्छ । 

आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसदहरु अतहर कमाल मुसलमान, अमनलाल मोदी, अमरेशकुमार सिंहलगायतले विकास निर्माणका काम, दैनिक उपभोग्य वस्तुको उपलब्धता, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, तराईलगायत क्षेत्रमा वर्षात्को समयमा अपनाउनुपर्ने सतर्कता, सम्भावित जोखिम व्यवस्थापनलगायतका विषयमा धारणा राख्नुभयो । 

सांसद इन्दुकुमारी शर्माले बलात्कारजन्य अपराधका दोषीलाई कारवाही गरिनुपर्ने बताउनुभयो भने अर्की सांसद उमा रेग्मीले संविधानको पालना हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, सांसद खगराज अधिकारीले सडकलगायत क्षेत्रको एकाधिकार ‘सिण्डिकेट’ तोडी जनताको पक्षमा काम गरिनुपर्ने धारणा राख्नुभयो । 

तपाईको प्रतिक्रिया