मेलम्ची सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध, दशैंमा काठमाडौं पानी ल्याउने सम्भावना न्यून

 जेठ ३१, २०७५ बिहिबार १४:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिट मार्गमा सुरुङ निमार्ण कार्य रोकिएको छ ।

स्थानीयले आफूहरुसँग गरेको सहमति आयोजनाले लागू नगरेका कारण आफूहरु खानेपानीको समस्यामा परेको भन्दै सुरुङ निर्माण कार्य ठप्प पारेका छन् । विगतमा भएका विभिन्न सहमति अनुसार आयोजनाले एउटा पनि काम नगरेको भन्दै बुधबारबाट माग पूरा नहुन्जेलसम्मका लागि स्थानीयले सिन्धु साइटको काम ठप्प पारेका हुन् ।

बुधबारदेखि सुरु भएको विरोध आफूहरुको माग पूरा नभएसम्म स्थगित नहुने स्थानीयको भनाई छ । पटक–पटक ताकेता गर्दा समेत आश्वासन मात्रै देखाउने र काम भने नगर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।

सुरुङ निमार्ण कार्यले खानेपानीको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानी भएकोमा अहिले खानेपानी लिन समेत करिब आधीघण्टा टाढा हिँड्न पर्ने भन्दै स्थानीयले दुखेसो गरेका छन् ।

निर्माण कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक–पटक भने पनि हुन्छ र गछौँ भनेर मात्रै टार्ने गरेकोले यसपटक पनि फेरि आन्दोलनमा उत्रन परेको प्रभावित स्थानीयको भनाई छ  । यस्ता आन्दोलन र सम्झौता धेरै पटक गरेको र यो पटक भने सम्झौता अनुसार काम नभएसम्म आन्दोलन जारी राख्ने सिन्धु सरोकार समितिका अध्यक्ष कुमारी तामाङले  जानकारी दिनुभयो ।

सुरुङ निमार्ण कार्यले खानेपानीको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानि भएकोमा अहिले खानेपानी लिन समेत करिब आधाघण्टा टाढा हिँड्न पर्ने अवस्था आएका तालामाराङ्गका हिरामाया तामाङको गुनासो छ ।

योभन्दा अघि भएका सहमतिहरुमा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिइने, काम गर्दा गर्दै मृत्यु हुनेहरुलाई उचित क्षतिपूर्ति दिनेलगायतको सहमति भए पनि अहिलेसम्म सहमति अनुसार कुनै काम नभएको थकनिका प्रभावित नेत्रबहादुर तामाङले गुनासो गर्नुभयो ।
 

सुरुङ निमार्णले गर्दा हेलम्बुका विभिन्न स्थानका नागरिकरुमा पनि असर परेका छन् । खानेपानीको मुहान सुक्नुका साथै सुरुङ निमार्णमा प्रयोग हुने विभिन्न केमिकलहरुको कारणले गर्दा खोलामा रहेका जलचर प्राणीहरु समेत मर्ने गरेका छन् ।

सुरुङ निमार्ण कम्पनी अmअ ले सम्झौता अनुसार काम नगरेको र यसले गर्दा करिब हेलम्बुका विभिन्न गाउँका ३५० भन्दा धेरै घरधूरीहरु प्रभावित भएको हेलम्बु गाँउपालिका ५ नम्बर वडाका वडा अध्यक्ष हर्कबहादुर तामाङले जानकारी दिनुभएको छ । 

फेरि ठेकेदारलाई समय थपियो

भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिष्टि (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।

त्यही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठीत विवाद निरुपण समिति (डिस्प्यूट एड्जुडिकेसन बोर्ड–डिएबी) ले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार दुई सय १२ दिन अर्थात सात महिना म्याद थप गरिएको छ भने क्षतिपूर्तिस्वरुप एक अर्ब तीन करोड रुपैयाँ दिने निर्णय समितिबाट भएको छ । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा आयोजनादेखि मन्त्रालयसम्मका कर्मचारीको मिलेमतोमा म्याद थप र क्षतिपूर्ति दिने निर्णय भएको स्रोतको दाबी छ । तर ठेकेदार कम्पनी भने अदालत जाने तयारीमा रहेको पनि बताइएको छ । 

यो दशैंमा काठमाडौं पानी पुग्ने सम्भावना न्यून 

आउँदो दशैँमा काठमाडौंमा मेलम्चीको खानेपानी पुर्याउने भने पनि यस आयोजनाको काम हेर्दा यो वर्ष पनि खानेपानी काठमाडौं पुग्न नसक्ने देखिन्छ । निर्माण कम्पनीले पुरानै काम गर्ने शैलीका कारण समयमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको हो ।

स्थानीयसँग गरेको सहमति अनुसारको माग पूरा नगरी स्थानीयले यसरी काममा अवरोध गरिरहने हो भने अहिले थपिएको समयमा पनि मेलम्चीको पानी काठमाडौँ जान्छ भन्न सकिने अवस्था छैन । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया