देशको परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण : प्रचण्ड

 मंसिर २७, २०७५ बिहिबार १७:५७:३६ | रासस
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । 

‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका बिहीबार विमोचन गरेपछि उहाँले जनयुद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति थारु समुदायले भोग्नुपरेको स्मरण गर्दै जनयुद्धमा पनि ठूलो सहयोग गरेको स्मरण गर्नुभयो । 

अध्यक्ष दाहालले शहीदको रगत र बेपत्ता तथा घाइतेको त्यागले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि सबै सपना पूरा नभएको बताउनुभयो । ‘हामी यो अवस्थामा आइपुगेका छौँ, यो सबै हजारौँ हजार शहीदको बलिदानले सम्भव भएको हो’, उहाँले भन्नुभयो, ‘तर यो नै पर्याप्त होइन, शहीदले खोजे जस्तो समाज निर्माण भएको छैन ।’ 

उहाँले संविधानले सुनिश्चित गरेका उत्पीडित जाति र समुदायका अधिकार सम्बन्धित वर्गले पाउन नसकेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिलेको संविधानको विशेषता भनेको यसलाई परिमार्जन गर्न सकिन्छ, त्यसैले उत्पीडित वर्गले प्राप्त गर्न नसकेका अधिकार संशोधनको बाटोबाट पूरा हुनेछन् ।’

थारु समुदायका चर्चित व्यक्तित्व स्वर्गीय जोखन रत्गैया चौधरीले सम्पादन गरेको त्यस पत्रिकाको पुनःप्रकाशन सुरु भएपछि विमोचन गरिएको थियो । अहिले जोखनकी छोरी इन्दु चौधरीले पत्रिकाको सम्पादन गरिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया