फ्राइडे रिलिज : आजदेखि ‘सुश्री सम्पत्ती’ र ‘डोली’ प्रदर्शनमा

 मंसिर २८, २०७५ शुक्रबार ११:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिजअन्तर्गत आजदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । सुब्रतराज आचार्य निर्देशित चलचित्र ‘सुश्री सम्पत्ति’ र राजबहादुर साने निर्देशित चलचित्र ‘डोली’ आजबाट अल नेपाल प्रदर्शनमा आएका चलचित्रहरु हुन् ।

यस्तै, अघिल्लो साताबाट प्रदर्शनमा आएको दिनेश राउत निर्देशितचलचित्र ‘प्रसाद’ ले पनि दोस्रो सातामा प्रदर्शन सुरु गरेको छ । चलचित्रले नेपालसँगै विदेशमा पनि राम्रो प्रदर्शन गरिरहेको बताइएको छ । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘सुश्री सम्पत्ति’को तुलनामा ‘डोली’ प्रचार प्रसारमा पनि केही पछाडि देखिएको छ । यस चलचित्रले ‘सुश्री सम्पत्ति’को तुलनामा हल पनि थोरै मात्र पाएको बताइएको छ । चलचित्र ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण गरिएको छ । यो चलचित्रका लागि पनि विदेशमा डिमान्ड बढीरहेको निर्माता बताउँछन् ।

चलचित्रमा समावेश उत्कृष्ट गीत संगीतलाई दर्शकको सकारात्मक टिप्पणी आइरहेकाले पनि चलचित्रको अन्तर्राट्रिय डिमाण्ड बढेको बताइएको छ । नेपालमा प्रदर्शन हुनु अगाडि नै जापान, दक्षिण कोरिया र युरोपमा चलचित्र बिक्री भइसकेका निर्माता रमेश त्वयनाले बताए । अन्य देशमा पनि चलचित्रको प्रदर्शनका लागि कुरा भइरहेको निर्माता त्वयनाको भनाई छ । अबको केही दिनभित्रमा युरोपका विभिन्न सहर तथा जापान र कोरियामा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

चलचित्र ‘सुश्री सम्पत्ति’ सुव्रत आचार्यको निर्देशनमा तयार भएको हो उनको यो दोश्रो चलचित्र निर्देशन हो यस अघि उनले नेपाली चलचित्र अधकट्टि निर्देशन गरेका थिए । अधकट्टि अपेक्षा गरेजस्तो चल्न सकेन तर चलचित्र ‘सुश्री सम्पत्ति’लाई भने दर्शकले माया गर्नेमा आफू ढुक्क रहेको निर्देशक आचार्यको भनाइ छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आचार्य आफैँले लेखेका हुन् । चलचित्रको सम्पादन भरत रेग्मीले गरेका छन् ।

चलचित्रमा सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेललगायतको अभिनय रहेको छ भने नायिका प्रियंका कार्कीलाई पनि विशेष भूमिकामा देख्न सकिने छ । 

यस्तै आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘डोली’ सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ । चलचित्र ‘डोली’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । पिजी सर्टिफिकेट पाएसँगै चलचित्र डोली हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथ जानु पर्नेछ ।

यस अघि नेपाली चलचित्र बृन्दावन निर्देशन गरेका निर्देशक राजबहादुर सानेले चलचित्रको निर्देशन गरेका छन् । किरण नेपालीले गरेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयमले लेखेका हुन् । चलचित्र ‘डोली’मा बबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रीलगायतको अभिनय रहेको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया