चितुवाको आक्रमणमा बौद्धभिक्षुको मृत्यु

 मंसिर २८, २०७५ शुक्रबार १२:४३:१६ | एजेन्सी
unn.prixa.net

भारतमा तपस्या गरिरहेका एकजना बुद्ध भिक्षुमाथि चितुवाले आक्रमण गरेर मारेको छ । त्यहाँका स्थानीय अधिकारीका अनुसार ती भिक्षु भारतको एक संरक्षित वनमा ध्यान गरिरहेका थिए । 

‘ताडोवा अंधेरी बाघ संरक्षित क्षेत्र’ का एकजना अधिकारी सन्तोष चौधरीले बताए, ‘‘राहुल वाके बोधी’ नाम गरेका ती सन्यासी तपस्या गर्न भनेर डिसेम्बर ११ गतेका दिन यो जङ्गलमा गएका थिए, त्यहीँ उनीमाथि आक्रमण भएको थियो र घटनास्थलमै उनको ज्यान गएको थियो ।’

बोधी एकवर्षदेखि त्यो ठाउँमा तपस्या गर्नेगरेको एएफपीले बताएको छ । ‘उनी एउटा रुखको फेदमा बसेर तपस्या गरिरहेका थिए, त्यहीँ उनीमाथि चितुवाले आक्रमण गरेको हो ।’ चौधरीले सीएनएनलाई फोन गरेर भनेका छन्, ‘ती भिक्षु आफू बस्ने कुटीबाट एकदेखि दुई किलोमिटरको दूरी हिँडेर त्यहाँ तपस्या गर्न आउने गर्थे ।’

त्यो संरक्षित क्षेत्र मुम्बईबाट पाँचसय माइलको दूरीमा पर्छ । चौधरीका अनुसार त्यस संरक्षित क्षेत्रमा बाघ र भालुको संख्या धेरै छ । एएफपीका अनुसार त्यही क्षेत्रमा पछिल्लो साता चितुवाका यस्ता ४ वटा घातक आक्रमण भएका छन् । 

अधिकारी चौधरीका अनुसार, भिक्षुमाथि आक्रमण गर्ने चितुवा त्यही जङ्गलभित्रै बस्थ्यो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया